Ads

पशु विज्ञान अध्ययनमा छात्राको आकर्षण


टीकापुर ।  प्राविधिक विषय अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै गएको छ । टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान विषय अध्ययनरत विद्यार्थीमा छोरीहरु बढी छन् । टीकापुर बहुप्राविधिक शिक्षालयमा पशु विज्ञानतर्फ एक सय तीनजना विद्यार्थी रहेकामा पुरुष ४८ र महिला ५५ जना रहेका छन् । पशु विज्ञान तथा भेटेरिनरी जेटिए अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै जानुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।

शिक्षालय प्रमुख पारस खड्काका अनुसार शिक्षालयमा पाँच सय ३३ जना अध्ययनरत रहेकामा दुई सय ५५ महिला र पुरुष दुई सय ७८ जना छन् । जम्मा सङ्ख्या हेर्दा पनि ४७ दशमलव ८ प्रतिशत महिला छन् । “विगतलाई हेर्ने हो भने हाल प्राविधिक विषय छोरीहरुको रोजाइको विषय बनिरहेको छ । पशु विज्ञान पढ्ने छोरीहरु धेरै छन्, अन्य विषयमा पनि महिलाको सहभागिता उत्साहजनक छ”, उनि भन्छन , “प्राविधिक विषय पढेपछि बेरोजगार बस्नु पर्दैन । स्थानीय ठाउँमै रोजगारका अवसर छन् । त्यसैले छोरीहरु आकर्षित भइरहेका छन् ।”

विगतमा पशु विज्ञानमा महिलाको सङ्ख्या कम हुन्थ्यो । पछिल्लो समय छोरीहरुका लागि छात्रवृत्ति कार्यक्रमले पनि थप आकर्षण बढेको उनको भनाइ छ । “पछिल्लो समय छोराहरु १२ कक्षा पढेपछि विदेश जान बढी रुचाएको देखिन्छ, अभिभावकमा पनि यस्तै चाहना छ”, उनि भन्छन , “त्यसैले प्राविधिक विषयमा छोरीहरु बढी हुन थालेका छन् । प्राविधिक विषय अध्ययनमा छोरीहरु बढ्नु राम्रो हो ।”

टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान अध्ययनरत खेमलता रेग्मी सुरुमा प्राविधिक शिक्षा पढ्नुपर्छ भन्ने सोचमा थिए । उनलाई प्राविधिक पढ्छु भनेपछि महिलालाई पशु विज्ञान गाह्रो हुन्छ, बाली विज्ञान पढ भनेपछि आफूले पशु विज्ञान नै रोजेको बताउछन । “प्राविधिक विषय पढौँ भन्ने थियो, पशु विज्ञान नै पढ्छु जस्तो लागेको थिएन”, पढाइ सकेर हाल कार्यगत तालिम गरिराखेकी  रेग्मी भन्छन , “पशु विज्ञान पुरुष पढ्ने विषय हो भनेपछि मैले चुनौतीका रुपमा यही पढ्न थाले । नसकिने भन्ने छैन । सजिलोसँग पढाइ सकियो । हाल ओजेटिभ गरिरहेकी छु ।”

कालिका सेकेन्डरी स्कुल गौरीगङ्गा कैलालीमा भेटेरिनरी जेटिए अध्ययनरत सुनिता बडेलालाई उनकै अभिभावकले पढ्ने वातावरण बनाए । आजभोलि टीकापुर पशु सेवा शाखामा ओजेटिभ गरिरहेकी सुनितालाई उपचारका क्रममा किसानले छोरीहरुले उपचार गर्न सक्छन् र  भनी प्रश्न गर्दा राम्रो लाग्दैन । “हामी केटाहरुभन्दा राम्रो उपचार गर्न सक्छौँ तर किसानले पनि हामी छोरीहरुलाई विश्वास कम गरेको देख्दा दुःख लाग्छ”, उनि भन्छन , “उपचार गर्दा प्राविधिक छैनन् र भन्छन्, हामीलाई नपत्याएर त होला ।”

९ कक्षादेखि ४ वर्षे भेटेरिनरी पशु विज्ञान अध्ययनरत सुर्खेतकी खगिसरा पुनमगरले शिक्षकको सल्लाहमा अध्ययन गरेका थिए । भविष्य सुरक्षित हुने र पढाइ सक्नेबित्तिकै रोजगारी पाउन सकिने भएकाले उनि छोरीहरुले आँटेमा जुन पेसामा पनि सफलता पाउन सकिने बताउछन । “८ कक्षा उत्तीर्ण भएपछि पहिलो पटक विद्यालयमा प्राविधिक विषय पढाइ हुन थाल्यो, शिक्षकले पढ्न हौसला दिए ”, खगीसरा भन्छन , “अब पढाइ पूरा भएको छ । परीक्षा दिएर कार्यगत तालिम गरिरहेकी छु । अब तालिमपछि पशुको उपचार गर्न सक्षम भइन्छ ।”

खगीसरा पशु विज्ञान पढेकाले अब रोजगारको चिन्ता नभएको बताउछन । “जागिर खान नसके पनि गाउँमै भेटेरिनरी खोलेर, गाउँका वस्तुभाउको उपचार गरेर भए पनि जीवन चल्छ”, उनि भन्छन , “पढाइ सकिने बित्तिकै काम गर्न सकिन्छ । यो विषय पढेकामा ढुक्क छु ।”भेटरिनरी जेटिए अध्ययनरत निशा चौधरी विगतमा छोराहरुले मात्रै पशुको उपचार गर्न सक्छन् भन्ने समाजको सोचाइ चिर्न जेटिए पढ्न थालेको बताउछन । “जेटिए पढ्नुभन्दा कृषि पढ भन्थे”, उनि भन्छन , “मैले यही रोजे, सिक्दै जाँदा उपचार गर्ने प्राविधिक विधि हुन्छ । नसक्ने भन्ने हुँदैन ।”

टीकापुर बहुप्राविधिक शिक्षालयमा पशु विज्ञान अध्ययनरत कामना चौधरी पनि आजभोलि कार्यगत तालिम गरिरहेका छन् । काम छोराको, छोरीको भन्ने नहुने भएकाले परिवारले यो पेसामा आउन प्रेरणा दिएको बताउछन । “अभिभावकले नै यो विषय पढ्न हौसला दिएका हुन्”, उनि  भन्छन , “मैले पढाइ र कार्यगत तालिममा मन लगाएर सिकिरहेकी छु, पढ्ने बित्तिकै स्वरोजगार भइन्छ ।”

पशु सेवा शाखा टीकापुरमा प्रमुख श्यामराज पाण्डेलाई आफूहरु पढ्दा १० प्रतिशत मात्र छोरीहरु कक्षामा रहेको सम्झना छ । उनि आजभोलि पशु सेवा शाखामा ओजेटिभ गर्नेमा महिला धेरै आउने गरेका बताउछन । “हामीकहाँ ३२ जना विद्यार्थी यतिखेर कार्यगत तालिममा छन् । भेटेरिनरी जेटिए पढेकाहरु ६ महिना र पशु विज्ञान पढेकाहरुले तीन महिना तालिम गर्नुपर्छ । तालिम अवधि एक सय पूर्णाङ्कको हुन्छ”, उनि भन्छन , “यसरी तालिम लिइरहेकाहरुमा ७० प्रतिशत छोरीहरु छन् । यो पेसामा अब छोरीहरु धेरै हुनेछन् ।”

Ads

सम्बन्धित पोष्टहरू