Ads

प्रधानन्यायाधीश कार्कीले पाए पदबाट अवकाश


काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदबाट अवकाश पाएका छन् । संवैधानिक प्रावधान अनुसार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्षको हुने संवैधानिक व्यवस्था छ । उनले अवकाश पाउनुअघि बिहीबार संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम नियुक्तिका लागि सिफारिस गरिसकेको छ । आइतबारदेखि श्रेष्ठले नै कायममुकायमका रूपमा सर्वोच्च न्यायालयको नेतृत्व गर्नेछन् ।

प्रधानन्यायाधीश कार्की लामो समय कायममुकायम भएपछि गत असार १ गते मात्र प्रधानन्यायाधीशमा नियुक्त भएका थिए ।  २०७९ असोजदेखि नै उनले कायममुकायमका रूपमा सर्वोच्चको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा बनेका न्यायालय शुद्धीकरणसम्बन्धीका दुई प्रतिवेदन कार्यान्वयनमा आउने अपेक्षा उनको कार्यकालमा गरिए पनि पूरा हुन सकेन ।

उनि २०७३ साउन १७ गते सर्वोच्चमा नियुक्त भएका थिए । उनले कुल सात वर्ष तीन दिन सर्वोच्चमा कामकाज गरे । सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुअघि कार्की महान्यायाधिवक्ता थिए । महान्यायाधिवक्ताबाट राजीनामा दिएर उनि न्यायाधीश नियुक्त भएका थिए । उनले नेपाल बार एसोसिएसनको अध्यक्ष पदबाट राजीनामा दिएर महान्यायाधिवक्ताको नियुक्ति लिएका थिए  ।

Ads

सम्बन्धित पोष्टहरू