काठमाडौ\ नेपाली पशुधनि किसानहरुको ठुलो नोक्सानी पछि मात्र सरकारले लम्पी स्किन रोग नियन्त्रणको कार्ययोजना बनाएको छ । पशुमा फैलिएको यस रोगका कारण किसानहरुले ठुलो नोक्सानी व्यहोरि सकेका छन् । तर सरकारले तयार पारेको रोग नियन्त्रण कार्ययोजना बल्ल अन्तिम चरणमा पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रणको कार्ययोजना अन्तिम चरणमा पुर्याएको हो ।
मन्त्रालयले बनाएको कार्ययोजना प्रधानमन्त्रीको कार्यालयमा पेस गरिँदै छ । गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षअघि नै भारतमा फैलिएको लम्पी स्किन रोगबारे जानकारी लिन ढिलाइ गरेको र पूर्वतयारी नगरिँदा महामारीको रुप लिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
दुहुना गाईभैँसी मर्दा साना तथा सिमान्तकृत किसान बढी प्रभावित भएको भन्दै उनले महामारी नियन्त्रण र राहतको कार्ययोजना पेश गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएका थिए । त्यही निर्देशनअनुसार कार्ययोजना बनाइएको सचिव दिपककुमार खरालले जानकारी दिए । कार्ययोजनामा रोग फैलिन नदिन आवश्यक खोप खरिददेखि स्थानीय तहको समन्वयसम्मका विषय समेटिएको छ । समयमै कार्ययोजना नबनाउँदा पीडित किसानले राहत नै पाउन सकेका छैनन ।
लम्पी स्किन रोगले अहिलेसम्म ५० हजारभन्दा धेरै पशु मरेका छन् । करिब १ खर्बको क्षति पुगेको छ । अहिले पनि साढे दुई लाख पशु संक्रमित छन् । १० लाखमध्ये ७ लाख पशु निको भइसकेको दाबी पशु सेवा विभागको छ । रोगबाट सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेश सबैभन्दा बढी प्रभावित छन् । लम्पी स्किन रोगले महामारीको रुप लिँदा पशुस्वास्थ्यसँग सम्बन्धित कार्यालयको बजेट रोकिँदा खोप उत्पादनका कार्यक्रम प्रभावित छन् ।
प्रतिक्रिया दिनुहोस्