Ads

सहयोग संकलन गरि गुम्बा निर्माण


ताप्लेजुङ्\ विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले जनाए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउँन स्थानीय जुटेका हुन् ।

गुम्बा निर्माण लागत रु दुई करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयवासीको भनाइ रहेको छ । तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग सङ्कलन गरेर रु ४५ लाख पठाएपछि गुम्बा निर्माण प्रक्रिया सुरुआत भएको निर्माण समिति अध्यक्ष शेर्पाले  बताए । उनका अनुसार गुम्बा निर्माण गर्नका लागि एक जर्मनी नागरिक समेतले रु आठ लाख सहयोग उपलब्ध गराएको छ ।

मिक्वाखोला गाउँपालिकाबाट रु २१ लाख उपलब्ध भएको निर्माण समितिले जनाएको छ । गुम्बा निर्माणका लागि अनुमानित रु दुई करोड लागत भए पनि अहिले रु २५ लाख ऋण रहेको निर्माण शेर्पाले बताए । निर्माण कार्यमा कार्यरत मजदुरका लागि ज्याला दिनबाहेक आवश्यक सामग्री खरिदमा भएको खर्च रु २५ लाख ऋण रहेको उनले जानकारी दिए ।

गुम्बामा राखिने गौतमबुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ । रु आठ लाखका तीन वटा प्रतिमा, रु आठ लाख ५० हजार र रु पाँच लाख ५० हजारका एक एक गौतमबुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका छन् । अन्य आवश्यक पुस्तक र सामग्रीसमेत दाताबाट उपलब्ध भएको छ ।

समितिका अनुसार यसै आउँदो आर्थिक वर्षको साउनमा गुम्बाको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ । गुम्बा नियमित पूजापाठ, मन्त्र जब गर्नका लागि लामा व्यवस्थापन गर्नका लागि छुट्टै कोष स्थापना गर्ने योजना रहेको छ ।

तोक्पेगोला क्षेत्रका स्थानीय गुम्बा निर्माण निकै महत्वपूर्णरुपमा लिएका छन् । तोक्पेगोला बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि १ किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शितलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो ।

ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये तोक्पेगोला क्षेत्रको पनि ठूलो स्थान रहेको छ । तोक्पेगोला बस्ती नजिकै सोदु पोखरी रहेको छ । सोदु पोखरी एक धार्मिक महत्व बोकेको एक पोखरी हो । प्रत्येक वर्ष सोदु पोखरीमा पूजापाठ गर्न जाने धार्मिक पर्यटकको पनि सङ्ख्या बढ्दै गएको तोक्पेगोलाका स्थानीय तेन्जिङ शेर्पाले जनाए ।

तोक्पेगाला बस्तीमा गुम्बा निर्माण हुनुलाई धार्मिक प्रतिष्ठाको रुपमा हेरिएको मिक्वाखोला –५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए । गुम्बा निर्माण सम्पन्न गर्नका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनँको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू