बिराटनगर\ कोशी प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई एक थान दमकल र एउटा पिकअप भ्यान सहयोग गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले दुवै सवारी साधनको कागजपत्र नगरपालिकाका प्रमुख अमिर मादेन र उपप्रमुख हिमादेवी ओझालाई दमकल र पिकअप भ्यानको ब्लुबुक हस्तान्तरण गरे ।
आगलागी तथा अन्य विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गरी आवश्यक औजार, उपकरण र सामग्रीको व्यवस्थापन गर्दैआएको छ । सोहीक्रममा सरकारले ताप्लेजुङमा यी उपकरण र सवारीसाधन उपलब्ध गराएको हो ।
कोशी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा न्यूनतम एउटा नगरपालिकामा अत्यावश्यक सेवा केन्द्र स्थापनागरी सञ्चालन गर्ने निर्णय गरेको थियो । ताप्लेजुङलाई दमकल र पिकअप भ्यान उपलब्ध गराएपछि अब सोलुखुम्बु जिल्लामा मात्र यस्तो केन्द्र निर्माण गर्न बाँकी रहेको छ । सरकारले सोलुखुम्बुको सोताङ गाउँपालिकामा केन्द्र स्थापना गर्ने निर्णय असार १३ गतेको बैठकले गरिसकेको छ ।
कोशी प्रदेशका १३ जिल्लामा बाहेक थप चार स्थानीय तहमा दमकल र पिकअप भ्यानसहित अत्यावश्यक सेवा केन्द्र विस्तार गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६–७७ मा १२ वटा जिल्लामा एकै पटक सेवा केन्द्र स्थापना गरी दमकल र पिकअप भ्यान प्रदान गरेको थियो ।
सोमबार मन्त्रालयले ७३ लाख ५० हजार रुपियाँ मूल्य पर्ने आधुनिक अग्नि नियन्त्रक (दमकल) र दुई वर्ष अगाडि खरिद गरेको पिकअप भ्यान फुङ्लिङ नगरपालिकालाई दिएको हो ।
प्रतिक्रिया दिनुहोस्