काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसकेको दाबी गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिव योगेश भट्टराईले छानबिन समितिको आवश्यकताबारे सदनमा जाँच गर्न आग्रह गरे । उच्चस्तरीय समिति गठन गर्नको लागि पार्टीले ह्वीप नलगाइ भोटिङ गराउन भट्टराईको माग थियो ।
उनले यो पछिल्लो घटना भएको भन्दै यसअघि पनि सुन तस्करी भएको सार्वजनिक भएको बताए । गत ३ महिनाअघि इलेक्ट्रिक सिगरेटको नाममा सुन आएको र त्यसमा प्रहरीले छानबिन गरेको भट्टराईले बताए । उनले यो प्रकरणमा कतिपय नेताको नाम पनि मुछिएको टिप्पणी गरे । उक्त प्रकरणबारेमा पनि गृहमन्त्रीले अनुसन्धान गर्ने आफूहरूको विश्वास रहे पनि आफ्नैअगाडि भएको फाइलको अनुसन्धान गृहमन्त्रीले अगाडि नबढाएको उनको भनाइ छ ।
सोही कारण आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको बताए । उनले सुन काण्डको विषयको छानबिन गर्नुपर्नेमा सबै दलहरू सहमत रहेको भन्दै यो विषयको समिति गठन गरेर छानबिन गर्नुपर्नेमा राष्ट्रिय सहमति भएको उनको भनाइ छ ।
संसदीय समितिले समिति बनाएर छानबिन गर्नुपर्ने भन्दाभन्दै प्रतिनिधिसभामा त्यो विषयमा किन सहमति हुँदैन भन्दै भट्टराईले प्रश्न गरे । सुन तस्करी प्रकरणले नेपालको अन्तर्राष्ट्रिय छविमै प्रश्न उठ्ने उनको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस्