Ads

अझै तात्न सकेन तातोपानी नाका


काठमाडौ\ नेपाल–चीन व्यापारको मुख्य नाका तातोपानी नाका सेलाएको एक दशक हुन लाग्यो । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सुस्ताएको यो नाकाले अझै गति लिन सकेको छैन ।
भन्सार विभागका अनुसार पछिल्लो तीन वर्षमा नेपालले तातोपानी नाकाबाट मात्र ५९ लाख १५ हजार रुपैयाँको वस्तु मात्र निर्यात गरेको छ । तातोपानी नाका सुस्ताए पनि आयात सुस्ताएको छैन । पछिल्लो तीन वर्षमा चीनले तातोपानी नाकाबाट नेपालमा ३३ अर्ब आठ करोड ३० लाख ७२ हजार रुपैयाँको बस्तु पठाएको छ ।

२०७२ को भुकम्प अघि यो नाका नेपाल–चीन व्यापारको प्रमुख नाका थियो । भूकम्पले ठूलो क्षति गरेपछि बन्द भएको तातोपानी नाका सञ्चालनमानै लामो समय लाग्यो भने त्यस पछि निर्यात व्यापारले गति लिएको छैन । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार भुकम्प अघि सम्म चिनियाँले आवश्यक पर्ने वस्तु नेपालबाट लग्थे तर भूकम्पपछि बस्ती धेरै माथि सारियो । आवश्यक वस्तु पनि नेपालबाट लैजान छोडे । यसले गर्दा पनि नेपालबाट निर्यात हुने बस्तु घटेको हो ।

भूकम्पपछि गत आर्थिक वर्ष २०७९÷८० सम्म तातोपानी नाकाबाट चीनले नेपालमा ४३ अर्ब २८ करोड ७५ लाख ४४ हजार रुपैयाँको बस्तु पठाएको छ । सोही अवधिमा तातोपानी नाकाबाट नेपालले चीनमा मात्र १४ करोड ३५ लाख ९४ हजार रुपैयाँको निर्यात गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पले तातोपानी नाकामा रहेका संरचनामा ठूलो क्षति गरेको थियो । दुवैतर्फ जनधनको ठूलो क्षति भएपछि भूकम्पको जोखिमलाई कारण देखाउँदै चीनले खासामा रहेको बस्तीलाई सारेको थियो । त्यसपछि तातोपानी नाका बन्द गरिएको थियो ।

आर्थिक वर्ष २०७२÷७३ मा चीनबाट तातोपानी नाका हुँदै ६१ करोड ८३ लाख ११ हजार रुपैयाँको बस्तु आएको थियो । उक्त वर्ष तातोपानी नाका हुँदै नेपालबाट चीनमा एक रुपैयाँको बस्तु पनि निर्यात भएन । आर्थिक वर्ष २०७३÷७४ र २०७४\७५ मा तातोपानी नाकाबाट हुने आयात तथा निर्यात शून्य रह्यो । आर्थिक वर्ष २०७५र७६ मा चीनबाट तातोपानी हुँदै चार करोड ८५ लाख १५ हजार रुपैयाँको बस्तु आएको छ, तर नेपालबाट भने कुनै बस्तु गएन ।

आर्थिक वर्ष २०७६र७७ मा तातोपानी नाका दुईतर्फी खुला भयो । तर, थोरै अवधिको लागि मात्र । उक्त वर्ष तातोपानीबाट नेपालमा नौ अर्ब ५३ करोड ७६ लाख ४६ हजार रुपैयाँको बस्तु आएको छ भने चीनमा १३ करोड ७६ लाख ७९ हजार रुपैयाँको बस्तु गएको थियो ।

कोरोना महामारीका कारण २०७६ चैतबाट तातोपानी एकतर्फी बन्द भयो । चीनबाट तातोपानी नाका हुँदै नेपालमा बस्तु आउने भए पनि नेपालबाट चीन जान सकेन । कोरोनाका कारण एकतर्फी चलेको तातोपानी नाका केही महिनाअघि मात्र दुईतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

२०७६ चैत महिनादेखि २०८० असार मसान्तसम्मको अवधिमा तातोपानी नाकाबाट चीनमा नेपालले मात्र ५९ लाख १५ हजार रुपैयाँको बस्तु पठाएको छ । जबकि, सो अवधिमा चीनले तातोपानी नाकाबाट नेपालमा ३३ अर्ब आठ करोड ३० लाख ७२ हजार रुपैयाँको बस्तु पठाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू