Ads

चितवनमा रवि लामिछानेको अवैधानिक लफडा, सुरक्षा निकायले जनायो आपत्ति


भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् । पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन, नियम विपरीत बसको रङ र रुट परिवर्तन गरी ‘ब्लु बस’ सञ्चालन गरिएसँगै कानुनी झमेला रहेका बेला नारायणगढ–मुग्लिन सडकको पहिरोमा अवरुद्ध यात्रु र सवारी साधनलाई उद्धार गर्न खटिएको रास्वपाकै र्‍यापिड एक्सन टिम (आरएटी) लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।

रास्वपाले सञ्चार उपकरण वाकिटकी सञ्चालनका लागि कुनै निकायबाट अनुमति लिएको पाइएको छैन । कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै जाम खुलाउन सुन्तला रङको ज्याकेटमा आरएटी लेखेर वाकिटकी सञ्चारसहितका युवा खटेकामा जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ ।

“राज्यका संयन्त्रले नसकेकै जस्तो गरी रास्वपाले गतिविधि अगाडि बढाएकाले त्यस्ता गतिविधि रोक्नुपर्ने आवश्यकता देखिएको हो,” चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भने । उनका अनुसार ठुला विपत्का घटनामा कुनै दल विशेष वा सङ्गठनको परिचयबिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीका रूपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने अवस्था भए पनि रास्वपाले सो अनुमति लिएको छैन ।”

कुनै पनि दल र उसका भ्रातृ संस्थाको पहिचान खुल्ने गरी कुनै पनि उद्धार तथा स्वयं सेवामा संलग्न हुन नपाइने पनि उनले बताए । प्रशासनले राजमार्गको पहिरो, ट्राफिक जाम जस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अङ्गहरू सक्षम रहेको पनि उनले जनाए । “विपत्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अङ्गहरू सक्षम छन्,” उनले भने ।

प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको सञ्चारको साधन वाकिटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन भनी छानबिन गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।रास्वपाले मङ्गलबार पहिरो क्षेत्रमा यात्रुको उद्धारका लागि भन्दै ट्राफिक व्यवस्थापन गर्न युवालाई परिचालन गरेको थियो । रास्वपाका प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा रहेको आरएटी टिममा ५० जना युवा रहेको बताइन्छ । आरएटी टिम परिचालन गर्ने लामिछाने निर्वाचित भएको सय दिनका अवसरमा घोषित कार्यक्रममध्येको एक हो ।

आजको गोरखापत्रमा लेखिएको समाचार अनुसार यही दिन घोषणा भएको मोबाइल क्लिनिकमा प्रयोगमा ल्याइएको पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स फिर्ता गरिसकेको छ भने रुट र रङमा समस्या देखिएको ब्लु बसको समस्या समाधानका लागि प्रक्रिया सुरु भइसके पनि अहिले रोकिएको छ ।

समन्वय गर्न निर्देशन

यसैबिच रास्वपाका महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकालले बुधबार नै विज्ञप्ति जारी गर्दै जनजीवनका समस्या सहजीकरणका लागि टिम खटिनु जरुरी रहेको दाबी गर्दै पार्टीका सदस्य यसरी खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमतिमा मात्रै खटिन निर्देशन दिइएको जनाए ।

“आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध सामाजिक हितका हेतु र्‍यापिङ एक्सन टिम गठन गरेको हो,” विज्ञप्तिमा भनिएको छ, “अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भए को भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र आरएटी टिम जनजीवनको सहजी करणका लागि खटिनु अपरिहार्य छ ।”

ब्लु बसमा झारा टार्ने प्रयास

ब्लु बसको रङ परिवर्तनमा देखिएको समस्या समाधानमा झारा टार्ने प्रयास गरिएको छ । ना ५ ख ३१३८ नम्बरको बसको ब्लुबुक र जाँचपास प्रमाण पत्रमा उल्लेख भएको रङलाई झारा टार्ने गरी देखाएर रुट अनुमतिको मागका लागि दबाब दिइएको छ ।

यातायात व्यवस्था कार्यालय चितवनका अधिकृत गोविन्दप्रसाद पौडेलले बिलबुकमा रहेको रङ अनुसार वा परिवर्तित रङलाई नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्जबाट परिवर्तन गरेर नल्याएसम्म आफूहरूले सञ्चालनको रुट अनुमति नदिने अडान दोहोर्‍याए ।

छैन वाकिटकीको अनुमति

सूचना तथा प्रसारण विभागका निर्देशक तथा प्रवक्ता भरत गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीले विभागबाट हालसम्म सञ्चार उपकरण वाकिटकीको अनुमति नलिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍यापिड एक्सन टिम (र्‍याट) ले मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो खुलाउन तथा ट्राफिक व्यवस्थापनमा वाकिटकीसहित कालीखोलालगायतका ठाउँमा खटिएको भन्ने विषयमा प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर कुनै पनि स्थानका लागि वाकिटकी प्रयोगको अनुमति नलिएको जानकारी दिए । प्रवक्ता गौतमले सो पार्टीले स्थानीय रूपमा सञ्चलानमा रहेका निर्माण कम्पनीहरूले अनुमति लिएका उपकरणहरू प्रयोग गरेको हुन सक्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू