Ads

अदालतको सेवालाई चुस्तदुरुस्त बनाउन कामु प्रधानन्यायाधीश श्रेष्ठकाे निर्देशन


काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त दुरुस्त एवं सेवाग्राही मैत्री बनाउन निर्देशन दिएका छन्। उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश र काठमाडाैं, ललितपुर र भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं उच्च अदालतका रजिष्ट्रार र जिल्ला अदालतका स्रेस्तेदारहरूलाई बिहीबार आफ्नो कार्यकक्षमा बोलाएर उक्त निर्देशन दिएका हुन्।

कामु प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा हुने अनावश्यक भीड नियन्त्रण गर्न र विकृतिजन्य क्रियाकलाप हुन नदिनका लागि अदालतको प्रवेशमा नियमन र व्यवस्थापन गर्न निर्देशन दिए। “अदालतका नियमित प्रयोगकर्तालाई पास वितरण गर्ने र अनावश्यकरूपमा अदालत प्रवेश गर्ने व्यक्तिहरूलाई निषेध गर्न कडाइका साथ पालना गर्नुस् ।”, भेटमा उनले भने, “अदातलको काम कारबाही तोकिएको समयभित्र सम्पादन गर्न, सेवाग्राहीलाई समयभित्र सेवा दिन र अदालत परिसरमा लामो समयसम्म भीडभाडको अवस्था आउन नदिन समय कार्ड लागू गर्नुस् ।”

सबै अदालतहरूमा विचाराधीन दुई वर्ष पुराना मुद्दाको शीघ्र फर्छ्योट अभियानका रूपमा कार्य सञ्चालन गर्न र अदालतबाट जारी भएका म्यादहरू पत्ता नलागेको (बेपत्ते तामेल) तामेल हुने क्रम बढाउन निर्देशन दिए। अदालतमा लिने जमानतलाई वस्तुपरक, व्यवस्थित र पारदर्शी बनाउन र एकरूपता कायम गर्नुपर्ने उनको भनाइ थियो ।

मुद्दाको अनलाइन दर्ता गर्ने तथा पेशी तारेखको अटोमेसन गर्ने कार्य छिट्टै सुरु गरिने बताउँदै सो कार्यका लागि पनि तयारी अवस्थामा रहन सबैलाई निर्देशन दिए। अदालतमा लागू रहेको फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारी कार्यान्यवनमा जोड दिनुपर्ने र हाल अदालतमा प्रयोगमा रहेको एसएमएस सेवा र अनलाइन तारेख प्रणालीलाई पनि थप व्यवस्थित र प्रभावकारी बनाउन उनले निर्देशन दिए।

साथै, अदालतमा अभियोगपत्र साथ दशीको रूपमा पेश भएका सम्पत्तिको आवश्यक व्यवस्थापन गर्न र फैसलाबमोजिम जफत हुने ठहरेका सम्पत्तिको लगत तयार गरी त्यस्ता सम्पत्तिको जफतका लागि आवश्यक पहल गर्नुपर्ने बताए। उक्त कार्यक्रममा उच्च अदालतका माननीय कामु मुख्यन्यायाधीश, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, रजिष्ट्रार, सहरजिष्ट्रार एवं तीनवटै जिल्ला अदालतका जिल्ला न्यायाधीशहरू, उच्च अदालतका रजिष्ट्रार तथा जिल्ला अदालतका स्रेस्तेदारहरू उपस्थित थिए।

Ads

सम्बन्धित पोष्टहरू