काठमाडौ\ नक्कली शैक्षिक प्रमाण पत्र भएका डाक्टरहरुको खोजीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) चलाएको अपरेशन फोक्सट्रोट चार्ली अन्तर्गत थप एक जना पक्राउ परेका छन् । योसँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरेको हो । योसँगै यसमा समातिनेको संख्या ६ पुगेको हो ।
ब्युरोले बिहीबार यसमा कांग्रेस सांसद् सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । बिहीबार सीआईबीले शर्मासहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा। अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । ब्युरोकी निर्देशक किरण बज्राचार्यका अनुसार विगतदेखि नक्कली प्रमाण पत्र बाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेका हुन् । स्रोतका अनुसार, ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ६ जना पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्