काठमाडाैँ । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन् ।
शुक्रबार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएको बताएका हुन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत शिक्षा विधेयक–२०८० बिरुद्ध विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले जानकारी दिए । उनले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रस्तावित शिक्षा ऐन अघि बढाउने प्रतिवद्धता जनाएको बताए । उनले सरकारको आश्वासनअनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको बताए ।
हाल कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्