बार्सिलोना । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आज नेपाल फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आएका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् ।
पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ । ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भ्रमणलाई छोट्याएका हुन् । पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार स्वीट्जरल्यान्डको जेनेभा आएका थिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्द गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्