काठमाडाैँ । नेपाली कांग्रेसले सुन तस्करीको छानबिन सरकारका निकायले गर्ने बताएको छ ।
कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेस नेतृत्वमा आन्तरिक दबाब थियो ।
प्रमुख सचेतक रमेश लेखकले भने:‘सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करी हुने र गैरकानूनी कार्य पूर्णरूपमा निस्तेज हुनुपर्छ । जोसुकै दोषीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ र निष्पक्ष स्वतन्त्र र गहिराई र स्वतन्त्ररूपमा छानबिन हुनुपर्छ’, निर्णय सुनाउँदै उनले भने ।
लेखकले दोषी नउम्किउन्, निर्दोष नफसुन् भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपमा काम गर्ने दलको बैठकको अर्को निचोड छ ।
उपभोग्य सामानको मूल्यवृद्धि, कालाबजारी नियन्त्रण, बाढीपहिरो, डुबान र लम्पीस्किन, डेंगु, आँखा पाक्ने रोगजस्ता विषयमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।
जनताका समस्या राख्ने थलो सदनलाई बन्धक बनाइएको भन्दै कांग्रेसले लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी प्रतिपक्ष उत्रिनु गैरजिम्मेवारी भएको टिप्पणी गरेको छ । संसद खुलाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षसँग संवादको अग्रसरता लिएर सदन खुलाउन पहल थाल्ने निर्णय भएको पनि प्रमुख सचेतक लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस्