काठमाडौ\ कक्षा १२ को नतिजाले नेपाली विद्यार्थीमा थोपरिएको भार र शैक्षिक गुणस्तरको चित्र एकै पटक देखाएको छ । परीक्षाको नतिजाले झण्डै आधा विद्यार्थीलाई असफलको सुचीमा राखि दिएको छ । आधा मात्र विद्यार्थी सफल बनाउने कस्तो शैक्षिक प्रणालीको अभ्यास भई रहेको छ भनेर प्रश्न पनि उठेको छ । तर परीक्षा वोर्ड भने अघिल्लो वर्षको तुलनामा नतिजामा सुधार आएको भनेर गर्व गरि रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले मङ्गलबार सार्वजनिक गरेको नतिजा अनुसार ५०.९१ प्रतिशत मात्र परीक्षार्थी सफल भएका छन् । परीक्षामा स्तरीकरण नभएका अर्थात असफल भनिएका परीक्षार्थी ४९.०९ प्रतिशत छन् । सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउने परीक्षार्थीलाई मात्र सफल समूहमा राखिन्छ । दुवै खण्डमा ३५ प्रतिशत अङ्क ल्याउन नसक्ने परीक्षार्थीलाई असफल भएको मानिन्छ । यो तथ्याङ्कले धेरै विद्यार्थीमा उच्च शिक्षा अध्ययनको सपनालाई टुटाएको छ ।
बोर्डले कक्षा १२ को परीक्षाको नतिजा परीक्षार्थीको प्राप्ताङ्क अनुसार सात समूहमा विभाजन गरेर सार्वजनिक गरेको छ । यस वर्ष माथिल्लो ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्यामा गत वर्षको तुलनामा वृद्धि भएको छ । नतिजा अनुसार यस वर्ष जिपिए ३।६१ देखि ४ सम्म छ हजार ९७६ जनाले ल्याएका छन् । तै पनि यो गत वर्षको तुलनामा दुई हजार ७९७ जना बढी हो ।
त्यस्तै जिपिए ३.२१ देखि ३.६० सम्म ३८ हजार ९९९ जनाले ल्याए जुन गत वर्षभन्दा आठ हजार ८९२ जनाले बढी हो । जिपिए २.८१ देखि ३.२० सम्म ६९ हजार १७४ जनाले ल्याए भने यो गत वर्षभन्दा तीन हजार ८९० जना धेरै हो ।
तर यस वर्ष जिपिए २.४१ देखि २.८० सम्म ल्याउने परीक्षार्थी संख्या यस वर्ष ६३ हजार ७७ जना मात्रै छन् । यो चाँहि गत वर्षको तुलनामा एक हजार १६ जना कम हो । यस वर्ष जिपिए २.१ देखि २।४० सम्म पाउने ११ हजार ४३८ जना छन् । यो गत वर्षको तुलनामा ५३८ जना धेरै हो । यस वर्ष जिपिए १.६१ देखि २ सम्म ल्याउने ४७ जना छन्,जुन गत वर्षको तुलनामा १२ जना बढी हो ।
नतिजा भित्रको खाडल
सैद्धान्तिक र प्रयोगात्मक खण्डमा पाएको नतिजामा ठुलो खाडल देखिएको छ । नेपाली विषयमा सैद्धान्तिकतर्फ एक हजार ७१७ जनाले मात्रै ए प्लस पाए तर सोही विषयको प्रयोगात्मकतर्फ भने एक लाख ८३ हजार ५४८ जनाले ए प्लस ल्याएका छन् ।
प्रयोगात्मकतर्फ सम्बन्धित विषयका शिक्षकले नै अङ्क प्रदान गर्न पाउने भएका कारण ए प्लस ल्याउनेको सङ्ख्या बढेको देखिन्छ । त्यस्तै अनिवार्य अङ्ग्रेजी विषयमा पनि सैद्धान्तिकतर्फ एक हजार ७८ जनाले मात्रै ए प्लस ल्याएका छन् । तर यही विषयमा प्रयोगात्मकतर्फ एक लाख ७९ हजार ५९४ जनाले ए प्लस ल्याए । अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, अनिवार्य गणितलगायतका विषयमा पनि यस्तै छ ।
सुधार भएको दावि
परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रश्न निर्माण र नयाँ पाठ्यक्रमले निर्दिष्ट गरेको सामग्रीका कारण नतिजामा सुधार आएको बताउँछन् । साथै उत्तरपुस्तिका परीक्षण तथा अङ्क प्रदान गर्ने तरिकामा पनि नयाँ प्रणालीको सुरुवात गरेकाले नतिजामा सुधार आएको शर्माको दावि छ ।
कक्षा १२ को परीक्षा गत वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो । मुलुकभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार छ सय ३७ जना सहभागी थिए । बोर्डका अनुसार नियमितबाहेक ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
अंग्रेजीमै सकस
यस पटक अनिवार्य अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेडेड समूहमा परेका छन् । त्यस्तै सामाजिक शिक्षा तथा जीवनोपयोगी विषयमा ५१ हजार १०४ जना, अनिवार्य नेपालीमा ३८ हजार ४५२ जना ननग्रेडेड समूहमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्