Ads

सिमा क्षेत्रमा सटहीको समस्या


इलाम, आफूसँग पैसा हुँदाहुँदै स्थानीय बासिन्दाले पैसाको अभाव झेल्नु परिरहेको छ । यो बाध्यता इलामको पूर्वी सीमावर्ती क्षेत्रका नागरिकको हो । इलामको पशुपतिनगर बजार र त्यस आसपास अर्थात भारतसँग सिमाना जोडिएका क्षेत्रका नेपालीलाई नेपाली पैसाको अभाव भइरहेको छ ।

नेपाली पैसाको अभावको मुख्य कारण भनेको भारतीय रुपियाँको कारोबार बढी भएर हो । पशुपतिनगर बजारसहित जिल्लाको पूर्वी क्षेत्रका अधिकांश किसानले उत्पादन गरेको कृषि उपज बिक्री गर्दा बढी मात्रामा भारत जाने गरेकाले त्यसको आम्दानी पनि भारतीय रुपियाँमै हुने गरेको छ तर भारतीय रुपियाँ सटही गरेर नेपाली रुपियाँ लिने ठाउँ नहुँदा यहाँका नागरिकले रकम अभावको समस्या झेल्नु परिरहेको स्थानीय बासिन्दा बताउँछन् ।

अहिले पशुपतिनगरमा राष्ट्रिय वाणिज्य बैङ्क छ तर यो बैङ्कले भारतीय रकम लिँदैन । व्यक्तिगत रूपमा भारतीय रुपियाँ सटही गर्नेले पनि अहिले पक्राउ पर्ने डरले सटही गर्न छोडेको जानकार बताउँछन् । अहिले पशुपतिनगरमा व्यक्तिगत रूपमा सटही गर्न एक हजार भारतीय रुपियाँको नेपाली एक सय रुपियाँ लाग्ने गरेको छ । क्षेत्रीका अनुसार २०४० सालतिर भने पशुपतिनगरमा राष्ट्र बैङ्कको सटही काउन्टर थियो । त्यो काउन्टर हटाइएपछि यहाँ समस्या बढेको हो ।

नेपाली रुपियाँ लिन नै खर्च गर्नु पनि सर्वसाधारणको अर्को बाध्यता रहेको सूर्योदय नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईको भनाई छ ।भारतीय रकम सटही नहुँदा सर्वसाधारण किसानदेखि पशुपतिगनर नाका हुँदै घुम्न आउने भारतीय पर्यटकलाई समेत समस्या परेको सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिकबहादुर बम्जन ले बताए । नगरपालिकाले २२ दिनअघि मात्र स्थापना गरेको पर्यटन सूचना केन्द्रमा आइपुग्ने पर्यटकले पनि सटहीको समस्या झेलिरहेको बताइएको छ । यो सूचना केन्द्रमा साउन २४ यता दुई हजार ३२८ जना पर्यटक आएको तथ्याङ्क छ ।

Ads

सम्बन्धित पोष्टहरू