Ads

कारबाहीमा परेकाले आत्मालोचना गरे सदस्य नवीकरण गर्ने एमालेकाे निर्णय


काठमाडौँ । नेकपा (एमाले)ले चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेकालाई आत्मालोचनासहित पार्टी सदस्यता नविकरण गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–८ मा कारबाहीमा परेकालाई आत्मालोचना गरी सदस्यता नवीकरण गर्न चाहनेको पार्टी सदस्यता नवीकरण गर्ने भनिएको छ।

अपानीमा अन्तर्घात गर्ने र पार्टी विरोधी गतिविधिमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने जनाएको छ। पार्टीले सार्वजनिक कार्यक्रममा पार्टी र जनसङ्गठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने निर्णय गरेको छ।

पार्टीले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको अपानीमा जनाइएको छ ।

उम्मेदवारी शुल्क पाँच सय मात्र 

पार्टीले अधिवेशनमा उम्मेदवारी शुल्क अधिकतम पाँच सय कायम गर्ने निर्णय गरेको छ । अन्तरपार्टी निर्देशनमा हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट प्रतिकूल रहेकाले अधिवेशनमा उम्मेदवारी शुल्क अधिकतम् पाँच कायम गर्ने निर्णय गरिएको उल्लेख छ । पार्टीले विभिन्न पदको उम्मेदवारी शुल्क तोक्दा त्यसको अनुपात यही अधिकतम शुल्कको आधारमा मिलाउनसमेत निर्देशत गरेको छ ।

‘फेक एकाउन्ट’ बन्द गराउने पहल

एमालेले पार्टीको नाम, लोगो र झण्डा सामाजिक सञ्जालमा दुरुपयोगको भएको जनाउँदै ‘फेक एकाउन्ट’ बन्द गराउन पहल गर्ने निर्णय गरेको छ।

“सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुप्रयोग भइरहेको छ । यसले पार्टीपङ्क्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको छ”, अपानीमा भनिएको छ, “सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका ‘फेक एकाउन्ट’ बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिइएको छ ।”

एमालेले भविष्यमा पार्टीमा प्रवेश गर्नेको सम्भावनालाई ध्यानमा राखी कमिटी निर्माण गर्दा कमिटीको अधिकतम सङ्ख्याभन्दा कम गर्ने अपानीमा भनिएको छ। एमालेले विगतमा कमिटीमा १० प्रतिशतसम्म मनोनयन गर्न पाउने अधिकारलाई अधिवेशनकै समयमा प्रयोग गर्नेजस्ता गल्ती भएको भन्दै यदि अधिवेशनबाटै कमिटीको मनोनयनका अधिकार प्रयोग गरेमा उक्त निर्णय स्वतः बदर हुने अपानीमा जनाइएको छ।

छ केन्द्रीय सदस्यबाट बिदा

एमालेले छ जनालाई केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ । पार्टीले केन्द्रीय सदस्य केशव स्थापित र प्रमोदनारायण यादवलाई हटाएको हाे। पार्टी केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेकाले उनीहरुलाई केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको अपानीमा उल्लेख गरिएको छ।

यस्तै स्वास्थ्य लगायतका कारणले चार केन्द्रीय सदस्यलाई हाललाई कामबाट बिदा दिने निर्णय गरिएको छ । यसरी बिदा पाउनेमा केन्द्रीय सदस्यद्वय अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) रहेका छन् । यस्तै अपानीमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने भनिएको छ।

Ads

सम्बन्धित पोष्टहरू