काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा केही दृश्य-अदृश्य वृत्तबाट आफूलाई जवर्जस्ती मुछ्ने र अपराधी झैं दुष्प्रचार गर्ने प्रयास गरेको दाबी गरेका छन् । उनले यसबारे गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् ।
सामाजिक संजालमा स्टाटस राख्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफुले ललिता निवास जग्गा प्रकरणमा गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने बताएका छन् । भट्टराईले हाल सीआईबीले गरिरहेको छानबिनको क्रममा कसैले आफूसँग कुनै सोधपुछ नगरेको र आफूले कसैसँग “उन्मुक्ति” को याचना नगरेको पनि स्पष्ट गरेका छन् ।
बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले अनुसन्धानलाई सहयोग गर्ने भने पनि प्रहरीले उनीहरूसँग बयान लिएको छैन । उनीहरुको बयान नभएपछि राजनितिक ढाँकछोप गर्न खोजिएको भन्दै पछिल्लो समय सरकार र सीआइबीको आलोचना हुँदै आएको छ । यसै प्रसंगमा भट्टराईले सामाजिक संजालमा प्रतिक्रिया जनाएका हुन् ।
ट्वीटरमा उनी लेख्छन्, केही समय यता केही दृश्य-अदृश्य वृत्तबाट चर्चित ललितानिवास जग्गा अपचलन प्रकरणमा मलाई जुन ढंगले जवर्जस्ती मुछ्ने,अपराधी झैं दुष्प्रचार गर्ने,सम्बन्धित निकायले कुनै सोधपुछ र छानवीन नगर्ने र उल्टै “उन्मुक्ति दिने” नाटकीय प्रचारवाजी भैरहेको छ त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
ललितानिवास लगायत सबै ठूला भ्रष्टाचार प्रकरणवारे निष्पक्ष छानवीन होस् र दोषीलाई हदैसम्मको सजाय होस् भन्ने कुरा मैले संसद र सार्वजनिक मन्चबाट निरन्तर बताउॅदै आएको छु साथै त्यस्तो छानवीनमा आफुले जहॉ, जैले,जसरी पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।
मेरो प्रधानमन्त्रीकालमा प्रक्रियागत ढंगले सम्बन्धित मन्त्रालयबाट आएको प्रस्तावमाथि मन्त्रीपरिषदको सम्बन्धित सामाजिक समितिले आवश्यक छानवीन पश्चात् प्रस्तुत गरेको निर्णयप्रस्तावलाई मन्त्रीपरिषद्ले सामुहिक रूपमा स्वीकृति दिएको तथ्य जगजाहेर छ ।
मैले सोही ब्यहोराको बयान केही बर्ष पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई दिइसकेको छु । सत्य त्यही हो र अहिले मैले जहॉ,जोसुकैलाई दिने बयान पनि त्यही हो । मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन ।
ललितानिवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैरकानूनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टी गर्न सक्दैन । हाल सिआइबीले गरिरहेको छानवीनको क्रममा पनि मसंग कसैले कुनै सोधपुछ गरेको छैन र मैले कसैसंग “उन्मुक्ति” को याचना गरेको पनि छैन ।
मेरो स्वविवेक र स्वाभिमानले त्यसो गर्नै दिंदैन । बरू आवस्यक परे आफ्नोतर्फबाट छानवीनमा हरतरहको सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिरहेको छु र पुनः अहिले गर्दछु। यो स्थितिमा केही वृत्तबाट भैरहेको निरन्तर दुष्प्रचारको अर्थ के हो आफ्नो विवेक प्रयोग गरेर निष्कर्षमा पुग्न सबैसंग विनम्र आग्रह गर्दछु । अनि दन्त्यकथाको छट्टुु स्यालले ‘चील आयो चील आयो’ भन्दै सोझा किसानको कुखुरा चोरेको जस्तो यहॉ नहोस् भन्नेतर्फ सबैको सतर्कता पुगोस् भन्ने कामना गर्दछु ।
प्रतिक्रिया दिनुहोस्