काठमाडौं । नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घटेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ ।
गत वर्ष आयात १६ प्रतिशत र निर्यात २१ प्रतिशतले घट्दा समग्र वैदेशिक व्यापार १६ प्रतिशतले घटेको हो ।
गत वर्ष राष्ट्र बैंकले एलसी अनिवार्य गर्ने र भारतसँगको व्यापार बैंकिङ प्रणालीबाट हुनुपर्ने नीति लिनुको साथै सरकारले १० वस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेपछि व्यापार घाटा कम भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक बर्षको साउनदेखि असार अन्त्यमा १६ खर्ब ११ अर्ब ७३ करोड बराबरको सामान आयात भएको छ ।
सोही अवधिमा अघिल्लो आर्थिक बर्षमा भने १९ खर्ब २० अर्ब ४४ करोड बराबरको सामान आयात भएकोे भन्सार विभागको तथ्यांक छ । गत वर्ष विदेशी मुद्राको सञ्चितीमा संकुचन आएपछि सरकारले १० विलासी वस्तुमा आयात नियन्त्रणको घोषणा गरेको थियो ।
गत आर्थिक वर्षको साउनदेखि असार अन्त्यमा नेपालले १ खर्ब ५७ अर्ब बराबरको बस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्षमा भने नेपालले २ खर्ब बराबरको निर्यात गरेको थियो । जसअनुसार निर्यातमा २१ प्रतिशतले कमी आएको छ । छिमेकी मूलुक भारतबाट मात्र १० खर्ब २७ अर्ब बराबरको बस्तु आयात गर्दा निर्यात भने १ खर्ब बराबरको मात्र भएको छ ।
जसमा दुग्धजन्य पदार्थ अन्र्तगत सबैभन्दा धेरै चीज दुबई र भारतबाट आयात गरिएको छ । भारत, पोल्याण्ड, इटाली लगायतबाट प्रशोधन नगरिएको कफि पनि उच्च मात्रामा आयात भएको छ । तथ्यांकअनुसार कृषि वस्तु खाद्यान्न, तरकारी, फलफूल लगायतको पनि उच्च मात्रामा आयात भएको छ ।
यता राष्ट्र बैंकको आर्थिक २०७९\०८० को दश महिनाको तथ्यांकअनुसार कूल निर्यात २४ प्रतिशतले कमी आएको छ । भारतमा मात्र ३३ प्रतिशतले निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ । यता चीनमा १ सय ६ प्रतिशतले निर्यात वृद्धि हुदा अन्य मुलुकमा ८ प्रतिशतले बृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्