Ads

सत्तापक्षका नेतालाई जोगाउन सरकारले प्रहरी अधिकारीको सरुवा गर्‍यो :सचेतक बर्तौला


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी प्रकरणको छानबिनमा संलग्न प्रहरी अधिकारीको सरुवा गरेको आरोप लगाएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु उक्त प्रकरणमा मुछिएपछि सरकारले उनीहरुलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको बताएका हु्न्।

आइतबार संघीय संसद् भवन परिसरमा उनले सीआईबीलगायत निकायलाई सत्तापक्षले आफ्नो इसारामा चलाएको भन्दै त्यसले स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान गर्ला भन्ने आफूहरूलाई नलागेको बताए ।

सचेतक बर्तौलाले सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको तर्क गरे । त्यसबाट पछि हट्न नसकिने अडान समेत उनले दोहोर्‍याए ।

“उच्चस्तरीय छानबिन समितिको माग त, अझ यसको औचित्यता, आवश्यकता अझ बढेर गएको छ । तपाईं सबैले देखिरहनुभएको छ । तपाईंहरूको लोकप्रिय मिडियामार्फत समाचार प्रकाशन, प्रसारण भइराखेको छ ।

अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीहरूलाई, एकपछि अर्को अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरूतर्फ, मुर्धन्य व्यक्तिहरूतर्फ जब सोझिन थाल्यो, त्यसपछि सत्ताघटकलाई के पर्‍यो भने प्रहरी अधिकारीलाई सरुवा गर्नुपर्‍यो,” उनले भने, “यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआईबी होस् वा राजस्व अनुसन्धान विभाग होस्, यी कुनै पनि इकाइले निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न सकिराखेको छैन । सरकारले यसमा नियन्त्रण गरिराखेको छ ।

सरकारले आफ्नो उद्देश्य र अभिष्ट साँध्नका लागि त्यसबमोजिम काम गरिराखेको छ भन्ने कुरा देखिन्छ । त्यसकारण नेकपा (एमाले)ले सुन तस्करसँग जोडिएको, यी तस्करका समग्र जालोलाई समाप्त पार्नुपर्छ भन्ने कोणबाट उठाएको यो माग हाम्रो जारी छ । हामी यो मागबाट फिर्ता हुँदैनौँ ।”

Ads

सम्बन्धित पोष्टहरू