काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा डाँकेको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दलहरू सहभागी छन् ।
राष्ट्रपतिले संविधान विपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही पनि बैठकमा सहभागी नभएको एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपा एसका नेता मेटमणी चौधरी, जनमत पार्टीका नेता अब्दुल खान, रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरु सहभागी छन्।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । उनले प्रधानमन्त्री, केही दलका नेता तथा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्