Ads

सुन तस्करी छानबिनका लागि ‘उच्चस्तरीय समिति’को मस्यौदा तयार


काठमाडाैँ । सुन तस्करी प्रकरण  छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ।

मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो।

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो।

सोही जिम्मेवारी अनुसार आफूहरुले त्यसको मस्यौदा तयार पारेको र अब केहीबेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताए।

प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो।

हिजो सोमवार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरुले त्यसको मस्यौदा तयार पार्न कार्यदलनै गठन गरेका थिए। अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुंगो लगाएपछि संसद बैठक सुचारु हुने नेताहरुले बताएका छन्।

Ads

सम्बन्धित पोष्टहरू