काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सिंहदरबारमा बस्ने भनिएको शीर्ष नेताको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको छ ।
तस्करीको सुन छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन आयोगबारे मस्यौदा समितिले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन सिंहदरबारमा प्रमुख दलका नेता सम्मिलित बैठक डाकिएको थियो ।
एमाले प्रमुख सचेतक पदम गिरीले बिरामी भएकाले ओली बैठकमा नआएको जानकारी दिए । आज तीन नेताले तयार पारेको ड्राफ्टलाई अन्तिम रूप दिने तयारी थियो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । संसदको अवरोध खुलाउन सोमबार बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।
त्यसका लागि मंगलबारै तीन सदस्यीय मस्यौदा समिति गठन भएको थियो । मस्यौदा समितिमा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सदस्य छन् ।
सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । समिति गठन भएपछि पनि सीआईबीको अनुसन्धान प्रभावित नगर्ने दलहरूको सहमति छ ।
दलहरू जाँचबुझ आयोग ऐन २०२६ अनुसार सुनकाकाण्डसहितका विषयलाई हेर्न उच्चस्तरीय आयोग बनाउन सहमतिनजिक रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्