कास्की । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन् । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन गरिएको हो । आगामी चार वर्षका लागि अध्यक्षमा चयन एका सिग्देल कास्की जिल्ला क्रिकेट सङ्घको समेत अध्यक्ष हुन् । प्रादेशिक क्रिकेट सङ्घको उपाध्यक्षमा प्रकाश पौडेल (नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा (स्याङ्जा) चयन भए ।
यसैगरी सदस्यमा देवेन्द्र प्रजु (कास्की), ऋषिराम गौतम (कास्की), फणीन्द्रबहादुर खड्का (बागलुङ), धामनाथ सापकोटा (नवलपुर), रेशमबहादुर केसी (पर्वत), विद्यादेवी भट्टराई (स्याङजा), भोजराज बराल (कास्की) र सन्तोष शर्मा (बाग्लुङ) रहेका छन् । नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रुपमा विकास गर्न सरोकार निकायसँग पहल गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकार तथा महानगरसँग मिलेर क्रिकेटका पूर्वाधार निर्माण आफ्नो प्राथमिकता रहेको बताए ।
अध्यक्ष सिग्देलले भने, “पोखरालाई काठमाडौँपछिको सौन्दर्यकै हिसाबले पनि अन्तर्राष्ट्रिय क्रिकेट भेन्यु बनाउन नेपाल क्रिकेट सङ्घले समेत प्रतिबद्धता जाहेर गरेको छ । यहाँ हामी पनि सबैसँग समन्वय गरेर सुविधासम्पन्न पूर्वाधार निर्माणका लागि काम गर्छौं ।”पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानसँगै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक वैकल्पिक मैदान नहुँदा पोखराामा ठूला प्रतियोगिता हुन सकेका छैनन् ।
गण्डकी प्रदेश सरकारले पोखरा–३३ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने निर्णय गरेपनि कार्यान्वयनमा आउन सकेको छैन । चालु आवमा प्रदेश सरकारले प्रादेशिक क्रिकेट मैदान बनाउन रु ४० लाख बजेट छुट्टाएको छ । बजेट सम्भावित जग्गाको खोजी कार्य गरी पहिचान गरेर बनाउन प्रादेशिक क्रिकेट सङ्घ गण्डकीले दबाब दिने नवनिर्वाचित अध्यक्ष सिग्देलले बताए ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले पोखराको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भने, “नेपालले यु–१९ महिला विश्वकप आयोजना गर्दैछ । अबको तीन वर्षभित्रमा पोखरालाई काठमाडौँपछिको अन्तर्राष्ट्रिय भेन्यु बनाउन चाहन्छौँ ।”अध्यक्ष चन्दले पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्