काठमाडौँ । सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ । पछिल्ला दिनमा जल तथा मौसमको सूचना सङ्कलनका लागि देशव्यापीरुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको हो ।
जल तथा मौसम विज्ञान विभाग अवलोकन तथा निरीक्षणका लागि पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विभागलाई थप साधन र स्रोतले सम्पन्न बनाएर मौसम पूर्वानुमानलाई भरपर्दो बनाइने जानकारी दिए । बाढी तथा पहिरोको पूर्वानुमानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति रोकिएको उल्लेख गर्दै उन ले आमजनतामा थप सूचना प्रवाहका लागि विभागले गरिरहेको काम कारबाहीको प्रशंसा गरे ।
हाल विभागले प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सम्बन्धित क्षेत्रको नदी तथा मौसमको सूचना प्रवाह गर्ने गरेको छ । यस्तै बाढी तथा पहिरो पीडित क्षेत्रका नागरिकलाई समेत छोटकरी सन्देश पठाउने गरेको छ । यसबाट जनधनको क्षति कम हुन सहयोग पुगेको छ ।
मन्त्री बस्नेतले जलवायु परिवर्तनका कारण देशव्यापीरुपमा मौसममा अनेक खालका समस्या बढ्दै गएकाले त्यसबाट जोगिन पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । अतिवृष्टि, खण्डवृटि तथा खडेरीजस्ता समस्या बढ्दै गएको अवस्थामा त्यसबाट जोगिन पूर्वतयारी गर्नुपर्ने र यस्ता संस्थालाई थप सबल बनाउनुपर्ने भएकाले सरकार त्यसका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
विभागका महानिर्देशक जगदिश्वरमान कर्माचार्यले पाँच सात वर्ष पहिले मौसम पूर्वानुमान कमजोर भए पनि पछिल्ला दिनमा विश्वसनीय र भरपर्दो रहेको बताउ । उनले विभागलाई साधन र स्रोत सम्पन्न बनाउन मन्त्री बस्नेतलाई आग्रह गरेका थिए ।
हाल विभागले दैनिक २४ घण्टाको मौसम पूर्वानुमानको जानकारी दिने गरेको छ । यस्तै तीन दिन र सात दिनकोसमेत पूर्वानुमान गर्ने गरेको छ । विभिन्न छिमेकी देशसँग पनि सहकार्य गरेर पूवर्मानुमानलाई थप भरपर्दो र विश्वसनीय बनाउँदै आएको छ । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलको पनि उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्