काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।
बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकबाट भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरिएको हो ।
निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्।
दलहरूबीच नेपाली कांग्रेसले ४, नेकपा (एमाले) ३, नेकपा (माओवादी केन्द्र) २, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १/१ समितिको सभापति पाउने गरी सहमति भएको छ।
बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्