झापा । सशस्त्र द्वन्द्वका समयमा विस्थापित झापाका अधिकांश छोटी भन्सार कार्यालय अझै पुनः स्थापित हुन सकेका छैनन् । छोटी भन्सार पुनः स्थापित हुन नसक्दा राजस्व चुहावट नियन्त्रण हुन सकेको छैन । भन्सार कार्यालयहरू उचित रेखदेख हुन नसक्दा झाडीमा परिणत भई दुर्व्यसनीको आश्रय स्थल बन्न थालेको छ ।
सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ नहुने हुँदा जिल्लाका अधिकांश छोटी भन्सार कार्यालय सञ्चालन बन्द गरिएको भन्सार अधिकारीहरूको भनाई छ । छिमेकी देश भारतसँग १ सय १८ किलोमिटर खुला सिमानामा जोडिएको झापा जिल्लामा झन्डै एक दर्जन छोटी भन्सार कार्यालय छन् ।
झापामा मेची भन्सार कार्यालय र भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएपछि भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको छ । अहिले झापामा दुई भन्सार कार्यालय सञ्चालनमा छन् ।
यसअघि यो कार्यालय मेची भन्सार कार्यालयको मातहतमा छोटी भन्सार कार्यालयको रूपमा रहेको थियो । उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।
मेची भन्सार कार्यालय काँकडभिट्टा मातहतमा बाहुन डाँगी, नकलबन्दा, सतिघट्टा र गौरीगञ्ज छोटी भन्सार कार्यालय पर्दछन् । जिल्लाका ११ वटा छोटी भन्सार कार्यालय मध्ये बाँकी भद्रपुर भन्सार कार्यालयको मातहतमा रहेका छन् । केचना, झापा, घेराबारी र पञ्चपाडा छोटी भन्सार भद्रपुर मतहतमा रहने गरी विभागले तोकेको छ । पछिल्लो समय सरकारले छोटी भन्सारलाई विस्थापित गर्ने नीति अघि सारेका करण पनि सशस्त्र द्वन्द्वका समयमा विस्थापित छोटी भन्सार कार्यालय पुनः स्थापित हुन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्