Ads

कोरोना पछि बन्द भएको टिपताला नाका खुल्दै


ताप्लेजुङ\ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोलास्थित टिप्ताला नाका भदौ २४ गतेदेखि खुल्ने भएको छ । कोभिड-१९ महामारीसँगै बन्द भएको नेपाल-चीन नाका करिब चार वर्षपछि खुल्ने भएको हो ।

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार टिपताला भञ्ज्याङ नाका आउँदो सेप्टेम्बर १० अर्थात् भदौ २४ गतेदेखि खुल्ने भएको छ । अध्यक्ष लिम्बूले चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जे काउन्टीका प्रशासन प्रमुखसँग भर्चुअल बैठक गरेर नाका खुलाउने विषयमा संवाद भएको बताएका छन् ।

पहिलेदेखि नै डिङ्जे काउन्टी प्रशासनसँग टिप्ताला नाका खुलाई दिन आग्रह गर्दै आएको र यसपटक भने सेप्टेम्बर १० देखि खुलाउने विषयमा आपसी सहमति जुटेको उनले जानकारी दिए । । फक्ताङ्लुङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ लगायतबाट नाका खुलाई दिने विषयमा हुँदै आएको पहल अब सार्थक हुने भएको उनको भनाइ छ ।

पाँच हजार एक सय मिटर उचाइ रहेको टिप्ताला नाका खुलेपछि फक्ताङ्लुङ गाउँपालिकाका स्थानीयलाई बढी सहज हुने भएको छ । नाका सञ्चालनमा आउँदा फक्ताङ्लुङ गाउँपालिका ६ लेलेपको फले, घुन्सा र वडा ७ ओलाङ्चुङगोला तथा याङ्माका बासिन्दालाई सबैभन्दा बढी राहत पुग्ने अध्यक्ष लिम्बूले बताएका छन् ।  यो नाका हुँदै दैनिक उपभोग्य लगायतका वस्तु तिब्बतको रिउबाट आयात हुने र गलैँचा, याक, चौँरी, जडीबुटीजस्ता वस्तुहरू यताबाट रिउ निर्यात गर्ने गरिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू