काठमाडाैँ । नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता बिपी कोईरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ।
कांग्रेसले बिपी कोईरालाको भाद्रा २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।
कार्यक्रममा मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी सत्र चल्नेछन् । त्यस्तै, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, उनले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी सत्रका कार्यक्रम पनि हुनेछन् ।
त्यस्तै, कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, र ऐतिहासिक फोटो प्रदर्शनी गर्ने कार्यक्रम पनि छ ।
बिपीका नाममा यस्तो कार्यक्रम पहिलोपटक आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसले ऐतिहासिक साहित्य महोत्सवमा उपस्थित हुन प्राज्ञिक तथा विद्वान वुद्धिजीवी, अध्येता, एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्नेहरूलाई अनुरोध गरेको छ । कार्यक्रमको तालिका छिट्टै सार्वजनिक घोषणा गरिने पनि कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्