लेटाङ्\ पछिल्लो दशकमा उत्तरी मोरङका किसानले अलैंची खेतीलाई समेत वैकल्पिक नगदेबालीको रुपमा विकास गरेका छन् । तर अघिल्लो वर्ष सम्म राम्रो लाभ लिई रहेका किसानहरुलाई यस बेला भने बगाननै सकिने पीरले सताएको छ । गत वर्षभन्दा यो वर्ष दोब्बर मूल्य बढे पनि उत्पादन स्थिर रहँदा किसान खुसी हुन सकेका छैनन् ।
उत्तरी मोरङका लेटाङ नगरपालिका, मिक्लाजुङ र केराबारी गाउँपालिकामा अलैँचीको व्यावसायिक खेती हुन थालेको एक दशक पूरा भयो । साविक बाङ्गी गाविस हाल लेटाङ–७ का हामसेर लिम्बूले २०३५ सालमा प्रयोगको रूपमा इलामबाट पहिलो पटक बिरुवा ल्याएर रोपेको बताईन्छ । त्यस पछि अपेक्षित भन्दा राम्रो उत्पादन दिएपछि उनले खेतीलाई विस्तार गरे ।
२५ रोपनीमा अलैँची खेती गर्दै आएका आदिमान लिम्बूले गत वर्ष १० मन अलैँची उत्पादन गरेका थिए । ३० हजारमा बिक्री भयो । यो वर्ष ६०–६५ हजार रुपियाँसम्म भाउ पुगेको भए पनि उत्पादन घट्दा उनी निराश छन् । छिर्केमिर्के र डढुवा रोगले अलैँचीको गानो कुहिएपछि पूरै बारी सखाप हुनेगरेको आदिमान लिम्बूले बताए ।
२० वर्ष यता अलैँची खेती गर्दै आएका उनको २०–२२ रोपनी जग्गामा अलैची फल्छ । उनी मात्र होइन, उत्तरी मोरङका पहाडी गाउँमा अधिकांश किसानले १ देखि ३० रोपनीसम्म अलैँची खेती गरिरहेका छन् । किसान अलैँची खेतीमा आकर्षित भए पनि रोग नियन्त्रण गर्न नसक्दा उत्पादन सन्तोषजनक नभएको अर्का किसान बलबहादुर राईको भनाई छ ।
कृषि ज्ञान केन्द्र विराटनगरका अनुसार मोरङमा २७० हेक्टरमा अलैँची खेती भइरहेको छ । सरदर प्रतिहेक्टर ० दशमलव ६ टन अलैँची उत्पादन हुनेगरेको छ ।
प्रतिक्रिया दिनुहोस्