Ads

‘निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैन, नसके बिदा हुन्छुु’: मन्त्री गुरुङ


काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका हुन् ।
सांसदहरूले सो विधेयक ल्याउने क्रममा विचौलिया हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै उनले आफूमाथि त्यस्ता खालको आरोप नलगाउन आग्रह गरे ।

‘विचौलियो हाबी भएर विधेयकहरू आयो भन्ने माननीय सदस्यहरुको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन। भोलिका दिन पनि चुक्दैन,’ गुरुङले भने, ‘त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो। निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो।’

मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताउँदै जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने बताए।

‘सधैँ मन्त्री भइन्छ भन्ने होइन। सधैँ राजनीतिक गरिरहनु पर्छ भन्ने पनि छैन। विचौलियाकै बिरुद्ध लडेर यहाँसम्म आएको छु। सामन्तवादकै बिरुद्धमा लडेर यहाँसम्म आएको छु। तर आज यहाँ एउटा विधेयक संशोधन गर्ने क्रममा विचौलिया हाबी भयो भनेर तरबार नै गर्धनमा हान्न खोज्नु त यो अलि मिलेन कि? निवेदन गर्न चाहन्छु–मेरो पृष्ठभूमि हेरे पुग्छ। म खुला पाना हुँ, पढे हुन्छ,’ उनले भने।

मन्त्री गुरुङले आफू जिन्दगीभर विचौलिया बिरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियालेर हेर्न पनि सांसदहरूलाई अनुरोध गरे।

Ads

सम्बन्धित पोष्टहरू