काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ ।
नेपाल प्रहरीले सीआईबीका एसएसपी दिनेश आचार्यलाई मंगलबार हङकङ पठाउन लागेको हो।
आचार्यले हङकङमा इन्टरपोलको समन्वय र स्थानीय प्रहरीको सहयोगमा सुन तस्करीको स्थानीय कनेक्सन खोज्ने भएका छन्। आचार्यले हङकङको प्रहरीको पनि सहयोग लिएर सुन तस्करीको अनुसन्धानलाई अघि बढाउने भएका छन्।
हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका लागी प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्राचार गरेको थियो ।
सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँमा ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्