Ads

संसदीय समितिको काम प्रभावकारी बनाउन सभापतिहरूलाई सभामुखको निर्देशन


काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् ।

बुधबार सभामुख,उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिएका हुन् ।

उनले समितिमा आउने विधेयकहरूलाई आवश्यकताअनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन ध्यानाकर्षण गराए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘निर्णयहरू अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरू अब समितिमार्फत पूरा गर्ने र समितिहरूलाई प्रभावकारी ढंगबाट काममा अगाडि बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरू भयो ।’

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सही ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको जानकारी दिए ।

त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरू र विधेयकसँग सम्बन्धित कामको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको जानकारी दिइन् ।

Ads

सम्बन्धित पोष्टहरू