सुर्खेत । समाजवादी मोर्चाको आज सुर्खेतको वीरेन्द्रनगरमा हुने ‘सन्देश सभा’लाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू सुर्खेत जाँदैछन् ।
टोलीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुर्खेत जाँदैछन् । वीरेन्द्रनगरको सिटी हलमा आयोजित उक्त सभामा प्रदेश स्तरीय मोर्चाको घोषणा समेत हुनेछ । मोर्चाको प्रदेश संयोजक एवम् माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिइन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको उद्देश्य रहेको केसीले बताइन् । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरूले सम्बोधन गरेर आज नै काठमाडौँ फर्कने कार्यतालिका रहेको छ । बुधबार धनगढीमा हुने कार्यक्रम भने स्थगित भएको थियो । यद्यपि कर्णालीमा हुने आजको कार्यक्रममा भने सबै नेताहरू आउने अध्यक्ष केसीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्