बिराटनगर\ केहि दशक अघि सम्म पूर्वी नेपालका किसानको प्रमुख नगदेबालीको रुपमा रहेको जुट खेती केहि वर्ष अघि सम्म क्रमिक घट्दो अवस्थामा थियो । तर पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । तर उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ ।
वातावरणमैत्री विभिन्न सामाग्रीहरुको उत्पादनका लागि जुट प्रमुख कच्चा पदार्थ हो । प्लाष्टिकका बोरा, झोला लगायतका सामाग्रीले वातावरणमा प्रतिकुल असर पारि रहेका बेला सो समस्या न्युनिकरणका लागि जुटका सामाग्री भरपर्दा विकल्प बन्न सक्छन् । तर उत्पादनको उचित मुल्य नपाउँदा किसानहरुको रुची यसको खेती तर्फ घट्दै गएको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९÷७० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेब सिंहले बताए ।
मोरङमा विगतका वर्षमा प्रति हेक्टर एक दशमलव ४५ मेट्रिक टन जुट उत्पादन भएको तथ्याङ्क छ । यस वर्ष उत्पादन बढेर प्रति हेक्टर एक दशमलव ५० मेट्रिक टन पुग्ने उनको भनाई छ । आव २०७८÷७९ मा जुटको मूल्य प्रतिक्विन्टल रु ११ हजार थियो । गत आवमा जुटको मूल्य प्रतिक्विन्टल रु नौ हजार थियो भने यस वर्ष घटेर जुटको मूल्य प्रतिक्विन्टल रु आठ हजार तीन सय पुगेको ज्ञान केन्दले जनाएको छ ।
कोशी प्रदेशमा छ हजार नौ सय नौ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । गत वर्ष सो जमिनमा नौ हजार नौ सय नौ सय १५ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको प्रमुख सिंहले बताए । प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटको खेती बढी गर्ने गरिएको छ ।
ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुट खेती गर्ने गरिएको छ । जुट खेतीको मुख्य समस्या खाडि खन्नु रहेकाले गत वर्ष मोरङका ३० किसान परिवारलाई जुट प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु २० हजारका दरले खाडी बनाउन सहयोग गरिएको कार्यालयले जनाएको छ । मोरङमा पाँच हजार ७० हेक्टर जमिनमा जुटको खेती गरिन्छ ।
झापामा पाँच सय ५० हेक्टर र सुनसरीमा एक हजार तीन सय ३२ हेक्टर जमिनमा खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । नेपालमा उत्तपादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बङ्गलादेशबाट जुट आयत हुने गरेको छ ।
नेपालको औद्योगीकरणमा जुट उद्योग स्थापनालाई कोशेढुंगाको रुपमा लिईन्छ । तर नेपाली जुट उद्योगहरु क्रमिक रुपमा धरासायी हुँदै जाँदा किसानहरुले खेती गर्ने क्रम पनि घटेको हो ।
प्रतिक्रिया दिनुहोस्