बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी गर्यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी रु १६ लाखले वृद्धि भएको छ ।
ढुङ्गा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाहरुले ढुङ्गा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाको भनाइ छ । पछिल्लो समय नेपालमा आयातित टायल र मार्वलको विकल्प ताराखोलाको स्लेट ढुङ्गा बन्दै जाँदा यसबाट स्थानीय तहमा रोजगारी सृजना समेत भएको हो । पालिकामा अहिले १२ वटा ढुङ्गा उद्योग दर्ता भइसकेका छन् भने पाँच वटा उद्योगले नियमित ढुङ्गा निर्यात गरिरहेका छन् ।
ताराखोला गाउँपालिका–५ मा पिके ढुङ्गा उद्योग सञ्चालन गरी २२ स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका पृथ्वी सुवेदीले यहाँ उत्पादित ढुङ्गाको माग उच्च रहेको बताउँदै काठमाडौँ, पोखरा, बुटवललगायतका नेपालमा मुख्य सहर तथा स्थानमा निर्यात भएरहेको जानकारी दिए । यहाँका ढुङ्गा विभिन्न सहरमा खपत भइरहेको र मार्वलको विकल्प बनिरहेको उनको भनाइ छ ।
“केही आफ्नो जग्गा र केही भाडामा जग्गा लिएर उद्योग सुरु गरेको छु”, उनले भने, “यहाँ ढुङ्गा बोक्ने ट्याक्टर ड्राइभरले समेत अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, मुख्य बाटोमा पु¥याएपछि ट्रकमा लोड गरी विभिन्न स्थानमा ढुङ्गा पुर्याइन्छ ।” यसका लागि विभिन्न स्थानमा डिपो समेत राखिएको उनको भनाइ छ ।
ताराखोलाको स्लेट ढुङ्गा ब्राण्ड भइसकेको भन्दै उनले परम्परागत घर छाउन प्रयोग हुने ताराखोलाको स्लेट ढुङ्गा अहिले आधुनिक घरका भित्तामा टास्न र भुँईमा छाप्न प्रयोग हुन थालेको बताए । यस्तै ताराखोला गाउँपालिका–२ अर्गलका चरण घर्तीले जिसिजी ढुङ्गा उद्योगमार्फत १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिए ।
उनले आफूले उत्पादन गरेको ढुङ्गा चितवन, पोखरा र दाङसम्म निर्यात हुने गरेको बताए । अन्य स्थानको ढुङ्गाभन्दा यहाँको ढुङ्गा बलियो र राम्रो भएको भन्दै उच्च माग भएकाले मागअनुसार ढुङ्गा पु¥याउन मुस्किल भइरहेको उनको भनाइ छ । ताराखोलाको ढुङ्गा विभिन्न साइजमा ग्राहकको माग अनुसार उत्पादन गरिँदै आइएको छ । पछिल्लो समय पदमार्ग, पार्किङ र बगैँचामा यहाँकोस्लेट ढुङ्गा प्रयोग हुन थालेको छ ।
“अहिले आर्थिक मन्दीका कारण विकास निर्माण र घर निर्माणको काम कम हुँदा ढुङ्गाको बजार केही घटेको मात्रै देखिन्छ”, घर्तीले भने “तर आकाशे रङ्को ढुङ्गा ताराखोलाको भन्ने ब्राण्ड देशभर भइसक्यो, ताराखोलामा ढुङ्गा उत्पादन गर्न सकेमा बजारको समस्या छैन ।”
प्रतिक्रिया दिनुहोस्