धरान\ सरकारी नियमनको अभाव र किसानको बाध्यताका कारण कृषि उपजमा विषादीको प्रयोग भयावह बन्दै गएको छ । जैविक तथा वैकल्पिक विषादीको प्रयोगमा सरकारले जोड दिने गरेको भए पनि त्यसको प्रभावकारीता न्युन देखिएको छ ।
अन्न तथा तरकारी खेती उच्च हुने पूर्वी तराईका जिल्लाहरुमा आयातित तथा पर्यावरण र मानव स्वास्थ्यलाई समेत असर गर्ने विषादीको प्रयोग हुने गरेको छ । विज्ञहरुका अनुसर बालीनालीमा लाग्ने विभिन्न शत्रुजिब नियन्त्रणका लागि प्रयोग हुने रासायनिक विषादीहरू मानिस र पशुपन्छीका लागि समेत घातक हुनेगरेको छ । विषादीको अत्यधिक प्रयोगले हावा, पानी, माटोलगायत समग्र पर्यावरणलाई नै प्रदूषित गर्छ ।
सिफारिस मात्राभन्दा विषादीको बढी प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्नेगर्छ । प्रतिबन्धित गरिएका कतिपय विषादीहरू बजारमा लुकीचोरी विक्री हुनेगरेका कारण किसानले प्रयोग गर्दा मानव स्वास्थ्यमा दीर्घकालीन असर पुग्नेगरेको छ ।रासायनिक विषादीले क्षणिक रूपमा राम्रै उत्पादन दिने भए पनि दीर्घकालीन रूपमा भने माटो उर्वरा शक्तिलाई नै घटाउने विज्ञहरू बताउँछन् ।
प्रभावकारी भएन विकल्प
खाद्यान्न र तरकारीमा प्रयोग हुने विषादीको परिमाण कम गर्न सरकारले २९ वर्षदेखि राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आए पनि विषादी प्रयोगमा भने कुनै कमी आएको छैन ।
यस्तै विभिन्न स्थानीय तहमा जैविक विषादीको उत्पादन तथा प्रयोगमा जोड दिने गरिएको भए पनि ति कार्यक्रम प्रभावकारी भएका छैनन् । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा आर्थिक वर्ष २०७९\८० मा ३० हजार मेक्ट्रीकटन विषादी किसानले तरकारी, नगदे बालीलगायतका अन्नबालीमा प्रयोग गरेका छन् । किसानले रोगनाशक विषादी ४० प्रतिशत र ढुसीनाशक पाउडर ६० प्रतिशत प्रयोग गर्दैआएको श्रेष्ठको भनाई छ ।
बजारमा तरकारीको माग बढी, उत्पादन कम हुनेहुँदा कीटनाशक विषादीको प्रयोग जथाभाबी रूपमा बढी हुँदैआएको छ । मौसमी र बेमौसमी तरकारी छोटो समयमै उत्पादन गरेर बजार लग्न किसानले तरकारी बालीमा विषादीको प्रयोग बढी मात्रामा गर्दैआएका छन् । बेमौसमी तरकारीमा बढी रोगकिरा लाग्ने हुँदा विषादीको प्रयोग बढी हुनेगरेको सूचना अधिकृत श्रेष्ठले बताए ।
कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहराका कृषि प्राविधिक अधिकृत विनोद यादवका अनुसार रातो लेभल भएको बिषादीले तत्कालै रियाक्सन देखाउने भएकाले यसको प्रयोग किसानले बढी गर्दैआएका छन् ।
प्रतिक्रिया दिनुहोस्