काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले उल्लंघन गरेपछि समस्या देखिएको छ ।क्यालेन्डर तयार गर्नुअघि सबै विश्वविद्यालयले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएका थिए ।
आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्ने मामलामा त्रिवि चुकेको छ । आईओईले शुल्क वृद्धि गरेको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आन्दोलन जारी राखेका छन् । आन्दोलनको कारण आज आइतबारदेखि सञ्चालन हुने सबै सेमेस्टरको परीक्षा स्थगित भएको छ भने २५ गतेबाट हुने प्रवेश परीक्षा कहिले हुने अन्योल देखिएको छ ।आन्दोलनका कारण आजबाट शुरू हुने परीक्षाहरू २२ गतेबाट हुने भएको छ । आईओई पनिकाले जारी गरेको सूचनामा पहिलो सेमेस्टरको २५, दोस्रोको २४, तेस्रोको २२ र चौथोको २५ गते तय भएको छ ।
आईओईले २५ गते प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको थियो । ‘सेमेस्टरको परीक्षा हुने भएपछि प्रवेश परीक्षा कहिले गर्ने ? भन्ने विषयमा निर्णय हुन बाँकी रहेको आईओई स्ववियु कोषाध्यक्ष दीपसागर ज्ञवालीले बताए । उनले आयोगले सार्वजनिक गरेको क्यालेन्डरलाई असर नपर्ने गरी परीक्षा सञ्चालन गर्न आग्रह गरिसकेको बताए । आईओइकै कारण क्यालेन्डर कार्यान्वयन हुन चुनौती भएको छ । आयोगले भदौ १ गतेबाट १३ विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागु भएको जनाएको थियो ।
आयोगले राजनीतिक प्रतिबद्धता नभएसम्म पूर्ण रूपमा क्यालेन्डरले तोेकेको मिति कार्यान्वयन हुन नसक्ने जनाएको छ । आयोगका अध्यक्ष देवराज घिमिरेले विश्वविद्यालयका पदाधिकारी, स्ववियु, विद्यार्थी संघ संगठन र राजनीतिक पार्टीको प्रतिबद्धता नआएसम्म क्यालेन्डर कार्यान्वयन हुन कठिन हुने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्