Ads

मातृभाषा सिक्दै सुनुवार समुदायका युवा


कटारी । उदयपुरको कटारी नगरपालिका–४ का मुना सुनुवार पेसाले शिक्षिका हुन् । स्नातकोत्तर अध्ययनरत उनी चार महिनादेखि सुनुवार भाषा सिकिरहेका छन्। “आफ्नो भाषाको संरक्षण आजको आवश्यकता रहेछ, त्यही भएर सिकिरहेकी छु”, उनले भने, “सिक्न त सिकेँ घरमा बोल्ने मान्छे छैनन् कोसँग बोल्ने ।”मुनामात्रै होइन कटारी–३ का टुपेन सुनुवारले पनि अहिले सुनुवार भाषा सिकिरहेका छन् ।

आफ्नो भाषा हराउँदै गएपछि भाषा सिक्न आवश्यक भएकाले भाषा सिक्न थालेको उनले बताए । कटारी–३ कै शुभद्रा सुनुवार विद्यार्थी हुन्, उनी पनि सुनुवार भाषा सिकिरहेका छन् । उनीजस्ता ४०  युवा तथा बालबालिकालाई सुनुवार मातृ भाषा सिकाउन सुनुवार सेवा समाज नगर समिति कटारीले कक्षा सञ्चालन गरिरहेको छ ।

“चार महिनादेखि प्रत्येक शनिबार सुनुवार भाषा सिकाउने कक्षा सञ्चालन गरिहेका छौँ”, समाजका अध्यक्ष तिलक सुनुवारले भने, “भाषा जोगाउन निःशुल्क कक्षाको आयोजना गरेर सिकाइरहेका छौँ ।”यसका लागि अध्यक्ष सुनुवारसँगै सुनवार भाषाबारे जानकार पाण्डव सुनुवारले सहजीकरण गरिरहेक समाजका कोशी प्रदेश उपाध्यक्ष सन्तबहादुर सुनुवारले बताए ।

“जातिको पहिलो पहिचान भनेको भाषा हो, भाषा नै हराउने भएपछि हामी लागिपरेका हौँ”, उनले भने, “अहिले त धेरैजना सामान्य बोलचाल गर्न सक्ने भइसकेका छन् ।”बसोबासका क्रममा थातथलो छाडेर अन्यत्र सरेसँगै सुनुवारको नयाँ पुस्ताले भाषा बोल्न नसक्ने भएपछि भाषा जोगाउन कक्षा नै सञ्चालन गरेको पनि उपाध्यक्ष सुनुवारले बताए । प्रदेश र देशभरिकै सुनुवार बस्तीमा भाषा सिकाउन आवश्यक रहेको पनि उनको भनाइ थियो ।

Ads

सम्बन्धित पोष्टहरू