दमक\ पूर्वी नेपालमा मानव–हात्तीद्वन्द्व दशकौं पुरानो समस्या हो । झापा, मोरङ्, सुनसरी लगायतका जिल्लामा जनघनत्व वृद्धी भएसँगै हात्तीको समस्या पनि बढि रहेको छ । हात्तीको रैथाने वासस्थान नजिकै समेत वस्ति विस्तार भए पछि सवै भन्दा बढि समस्या तिनै क्षेत्रका बासिन्दाले भोग्दै आएका छन् ।
जंगल मासिदै गएको र प्राकृतिक आहाराको अभावकै कारण हात्ती आहाराको खोजीमा मानव वस्ति तर्फ आउने गरेको पछिल्लो ठहर छ । विद्युतीय तारवार लगाउने, खुर्सानीको धुँवा लगाउने, टिन ठटाउने लगायतका अनेक विकल्पले पनि हात्ती नरोकिए पछि पछिल्लो पटक जंगलमै हात्ती टिकाउन आहारा व्यवस्थापनको प्रयास थालिएको छ । यस अन्तर्गत झापामा हात्तीका लागि आहारा हुने किसिमका फलफूलका विरुवा रोप्न थालिएको हो ।
भारतबाट आउने हात्तीको संख्या घट्नुको सट्टा दिनानुदिन बढ्दै गएपछि झापाको प्रमुख समस्याको रुपमा मानव–हात्ती द्वन्द्व बन्दै गएको छ । हात्ती प्रभावित क्षेत्रका मानिस र जंगली हात्ती तथा जनावरहरुबीचको द्वन्द्वलाई कम गर्नका लागि जंगलहरुमा हात्तीमैत्री फलफूल तथा बनस्पति लगाउन प्रेरित गर्न थालिएको डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले बताए ।
जंगलमा आहारा नपाएपछि हात्तीहरु बस्ती पस्ने गरेको उनले बताए । पहिलापहिला भारतबाट दुई चार वटाको समूहमा हात्ती आउने गरेका थिए अहिले त एकैचोटी दुई सय वटासम्म हात्ती प्रवेश गरेका छन्– उनले भने । हात्ती करिडोरभित्रका जंगलमा हात्तीका लागि आवश्यक आहारा व्यवस्थापन गर्ने र हात्तीमैत्री व्यवहार गर्ने हो भने मानवीय र भौतिक क्षति कम हुनसक्ने अधिकृत पाठकले बताए ।
डिभिजन वन कार्यालय र बिभिन्न सामुदायिक वनहरुले आँप, केरा, बाँस, अम्बक लगायतका विरुवाहरु रोप्दै आएको उनले जानकारी दिए । खाना नपाएका दुब्लाएर हड्डी मात्र भएका हात्तीहरु समेत आएको देखेका छांै– उनले भने । हात्तीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा पनि मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि बिभिन्न प्रयास हुँदै आएका छन् ।
वडा नं. ४का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार शुरुवातमा मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि हात्तीमैत्री ब्यवहारको कुरा गर्दा सबैले अनौठो मान्ने गरेका थिए । पछिल्लो समयमा हात्तीका लागि आहारा ब्यवस्थापन गर्ने, हात्तीमैत्री वन व्यवस्थापन गर्ने बिषयमा स्थानीयहरु पनि सकारात्मक बन्दै गएका छन् । हात्ती सहज हिँडुडुल गर्ने र खाने रमाउने व्यवस्थापन गर्दा बस्तीमा पसेर क्षति कम हुन्छ भन्ने अब सबैले बुझ्न थाल्नु भएको छ– उनले भने ।
हात्तीका लागि जंगलमा आहारा व्यवस्थापन गर्न सके यसबाट हुने क्षति कम गर्न सकिन्छ– उनले भने ।
सुकेडाँगी सामुदायिक बनकी अध्यक्ष शान्ति उपाध्याय घिमिरेले दुई बर्ष अघिदेखि नै आफूहरुले निरन्तर रुपमा बनमा केरा, बाँस लगायतका विरुवाहरु रोप्दै आएको बताइन् । जंगलभित्र आएका हात्तीहरु खाद्यान्नको खोजीमा बस्तीतर्फ प्रवेश नगरुन् भन्ने उद्देश्यले आफूहरुले हात्तीमैत्री आहारको व्यवस्थापनमा जुटेको उनले बताइन् ।
पूर्वोत्तर झापाका मेचीनगर, बुद्धशान्ति, शिवसताक्षी, दमक लगायतका क्षेत्रमा हात्तीका कारण वर्षेनी क्षती हुने गरेको छ । यस्तै दक्षिणी क्षेत्र भद्रपुर, हल्दिबारी लगायतका क्षेत्रमा समेत जंगली हात्तीको समस्या रहेको छ ।
ग्रामिण क्षेत्रमा मात्र नभई झापाका मुख्य सहरी क्षेत्र सम्म पनि हात्ती आउने गरेको छ भने हात्ती–मानवद्वन्द्वका कारण बेला बेलामा हात्ती र मानिसको मृत्यु समेत हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्