Ads

लाखेनाच संरक्षण गर्न प्रतियोगिता


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा  पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ । कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो  र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भएका थिए । खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् ।

मुखुण्डो लगाएर लाखेहरू नाचगान गरिरहेका थिए भने हेर्नेको त्यस्तै भीड थियो । कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि जिल्लास्तरीय लाखेनाच सञ्चालन गरेका हुन् । नवलपुरभरिका नेवाः गुठीबाट प्रतियोगी समावेश गरी लाखेनाच प्रतियोगिता गरिएको भीमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागतरूपमा मनाइने लाखेनाच पर्व जोगाउन लाखेनाचको प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेको उनले बताए ।

“बाजाको तालमा प्रस्तुत लाखेनाचमा दर्शक रमाए”, उनले भने, “विभिन्न नेवाः समुदायको लाखे प्रस्तुति जिल्लामा नै पहिलोपटक एकैठाउँमा अवलोकन गर्ने अवसर सबैलाई मिलेको छ ।” लाखोनाचले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ । लाखेअन्तर्गत कृष्ण प्रस्तुति, चटकीदेखि लाठीनाचसम्मको प्रस्तुति भएको अध्यक्ष श्रेष्ठले बताए । ती प्रस्तुतिमा नेवारी उत्कृष्ट संस्कृतिको खोजी भएको थियो । “लाखेनाच संरक्षण र संवर्द्धनको उद्देश्यले खाना परिकार मेलासँगै लाखे प्रतियोगिता गरिएको हो”, उनले भने ।

पछिल्लो समय आदिवासी जनाजातिभित्र रहेका नेवारी समुदायको विभिन्न किसिमका परम्परागत संस्कार र संस्कृति लोप हुँदै गइरहेको संविधानसभा सदस्य जीवन श्रेष्ठले बताए । “परमपरागतरूपमा रहेका मौलिक लाखेनाचजस्ता संस्कार, संस्कृति लोप हुँदै जाँदा नेवार समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने खतरा रहन्छ”, उनले भने ।

लोप हुने अवस्था रहेको संस्कार, संस्कृतिको जगेर्ना गर्ने गरी जिल्लामै लाखेनाच प्रतियोगिता गर्नु सराहनीय कार्य भएको दर्शकले बताएका छन् । नेवारी समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्ने लाखेनाच देशका विभिन्न भू–भागमा लोकप्रिय छ । नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म लाखेनाच दिनहुँ देखाइन्छ । सामाजिक परम्परासँग जोडिएको लाखेनाच कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रुप लाखे र अन्य मुखुण्डोधारी उसका सहयोगी सामूहिकरूपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् ।

Ads

सम्बन्धित पोष्टहरू