Ads

हवाई क्षेत्र सुरक्षित बनाउन इनरुट वेदर क्यामेरा जडान गर्दै प्राधिकरण


काठमाडाैँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित गर्दै दुर्घटना न्यूनीकरण गर्न दुर्गम पहाडी क्षेत्रमा इनरुट वेदर क्यामेरा (हवाई मार्गको मौसमबारे जानकारी दिने क्यामेरा) जडान थालेको छ ।

प्राधिकरणले काठमाडौं–सोलुखुम्बुको लुक्ला रुटमा राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा यस्तो क्यामेरा जडान गरेर मंगलवारदेखि सञ्चालनमा ल्याएको हो ।

हवाई रुटमा पर्ने मौसमको बारेमा उडान अगाडि नै जानकारी लिने र अनुकूल मौसममा मात्रै उडान गर्न क्यामेराले सहयोग गर्ने भएको छ । क्यामेरा जडानपछि मौसमको कारणले हुने जोखिम कम गर्न सहयोग पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं लुक्ला सेक्टरको हवाई रूटलाई सुरक्षित बनाउन र यो क्षेत्रमा हुने दुर्घटना रोक्ने उद्देश्यले फाप्लुको उत्तरपूर्वी क्षेत्र अन्तर्गत लाम्जुरा क्षेत्रमा यस्तो क्यामेरा जडान गरिएको हो ।

अहिले प्राधिकरणले हवाई रुटमा मौसमका कारण देखिएको चुनौतिपूर्ण क्षेत्रलाई प्राथमिकता दिएर अत्यावस्यक भौगोलिक अवस्थाका क्षेत्रमा इनरुट क्यामेरा जडान गर्दै जान थालेको हो ।

यस अघि पोखरा जोमसोममा पनि राष्ट्रिय आविष्कार केन्द्रकै सहकार्यमा त्यो क्षेत्रको कभरेज गर्न ३ वटा क्यामेरा जडान भएको थियो ।

अब प्राधिकरणले डोल्पा–सिमिकोट क्षेत्रको इनरुट न्याभिगेसनलाई इन्ह्यान्स गर्न क्यामेरा जडानको तयारी गरिरहेको छ ।

आवश्यकता अनुसारका सबै रुटमा क्यामेरा जडान गरेर उडान सुरक्षालाई सबल बनाउने प्रयास हुने प्राधिकरणका सूचना अधिकारी भुलले बताए । क्यामेरा जडानको प्राविधिक पाटो भने राष्ट्रिय आविष्कार केन्द्रले नै गर्ने गरी प्राधिकरणसँग सम्झौता भएको छ ।

प्राधिकरणले यस अघि पोखरा जोमसोम खण्डमा गरेको सम्झौता अनुसार नै अरू खण्डमा पनि आविष्कार केन्द्रले क्यामेरा जडान गर्दै जाने छ ।

Ads

सम्बन्धित पोष्टहरू