Ads

पहिलो पटक चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट आयात


काठमाडौ\ चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ । भियतनामबाट नेपालका लागि आयात गरिएको बेसार बोकेको कन्टेनर तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको हो । यससँगै लामो समयदेखि थाती रहेको नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता पनि कार्यान्वयनमा आएको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा खास गरी तेस्रो देशबाट हुने आयातमा भारतलाई मात्र ‘ट्रान्जिट’ का रूपमा प्रयोग गरिँदै आएकोमा बुधबारदेखि चीनबाट पनि तेस्रो देशको सामान आयात गर्न सकिने सम्भावनाले ठोस नतिजा प्राप्त गरेको छ । २०७२ चैत ८ गते चीनसँग पारवहनका लागि पहिलो पटक सम्झौता भए पनि २०७५ भदौ २२ मा मात्र त्यसको कार्यविधि टुङ्ग्याइएको थियो । कार्याविधि नै टुङ्गो लागेको करिब पाँच वर्षपछि मात्र यो कार्यान्वयनमा आएको हो ।

तुन्छे ट्रान्स हिमालयन टे«डिङ कम्पनीले चीनको तियान्जेन सामुद्रिक बन्दरगाह प्रयोग गरी सामान आयात गरेको हो । यसरी सामान आयात गर्दा भियतनामदेखि तियान्जेन बन्दरगाहसम्म पाँच दिन र त्यहाँबाट तातोपानी हुँदै काठमाडौँसम्म आउँदा छ दिन गरी कुल ११ दिनमै आयात सम्भव भएको सञ्चालक त्रिभुवन तुलाधरले जानकारी दिए । भूकम्प र त्यसलगत्तैको भारतीय नाकाबन्दीपछि सरकारले अन्तर्राष्ट्रिय व्यापार पारवहनको विकल्प खोज्दै चीनसँग २०७२ चैत ८ गते पारवहन सम्झौता गरेको थियो । यस्तो सम्झौताले तेस्रो देशबाट आयात गर्नुपर्ने सामान चीनका बन्दरगाह प्रयोग गरेर ल्याउन सक्ने बाटो खुला गरिदिएको थियो ।

कार्यविधि अभावमा सम्झौता कार्यान्वयनमा नआएपछि २०७५ भदौ २२ गते यसलाई टुङ्गो लगाइएको थियो । जसबाट नेपालले चीनका ल्हासा, लान्झाउ, सिगात्से गरी तीन वटा खुक्खा बन्दरगाह र तियान्जेन, लियान्युन्झ्याङ, झाइझिङ र सेन्जेन गरी चार वटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने प्रावधान राखिएको थियो ।

बुधबार भियतनामबाट चीन हुँदै नेपाल भित्रिएको विशेष कन्टेनरलाई पारवहन सम्झौताको पहिलो कार्यान्वयनका रूपमा स्वीकार गरेर बिहीबार औपचारिक कार्यक्रमै राखिएको छ । नेपालका लागि चीनका राजदूत छन सोङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले संयुक्त रूपमा घोषणा गर्ने कार्यक्रम रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू