काठमाडौ\ पूर्वपश्चिम राजमार्गको विकल्पको रुपमा अघि सारिएको हुलाकी राजमार्ग निर्माण थालिएको डेढ दशक नाघि सक्यो । तर अझै सम्म एक तिहाई काम पूरा हुनै बाँकि रहेको छ । तराईका जिल्ला र दक्षिणी क्षेत्रको विकासलाई पुनजागृत गराउने लक्ष्य समेत राखिएको यस सडकका कतिपय पुल र सडकको ठेक्का समेत लाग्न सकेको छैन ।
१६ वर्षअघि सुरु भएको हुलाकी सडक आयोजनाको काममा ६५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजना पूरा गर्न थप एक खर्ब र अझ ३ वर्ष लाग्ने अनुमान छ ।
६ वटा आयोजना कार्यालयमार्फत काम भइरहे पनि अझै ३५ प्रतिशत निर्माण बाँकी छ । कतिसम्म भने २५० किलोमिटर सडक र ५० वटा पुलको अहिलेसम्म ठेक्कासमेत लागेको छैन ।
तराई–मधेशको लाइफ लाइन मानिएको पूर्व–पश्चिम मूल हुलाकी राजमार्ग र भारतीय सिमानादेखि महेन्द्र राजमार्ग जोड्ने शाखा सडकहरूको निर्माणसँगै मधेशका जिल्लामा यातायातको सुगमता भएको छ । एक दशक अघिसम्म प्रशासनिक कामकाज, मुद्दामामिला र किनमेलका लागि जिल्लाका सदरमुकाम आउजाउ गर्न कष्टपूर्ण यात्रा गर्न बाध्य दक्षिणी र मध्य मधेशका सर्वसाधारण सडक निर्माण भएपछि अहिले निकै राहत महसुस गरेका छन् ।
मेचीदेखि महाकालीसम्मको ९७५ किलोमिटर मूल हुलाकी सडक र भारतीय सिमानादेखि पूर्वपश्चिम महेन्द्र राजमार्ग जोडिने ८२५ किलोमिटर शाखा सडक रहेको छ । सोमध्ये चार सय किलोमिटर निर्माणाधीन अवस्थामा छ । राष्ट्रिय निकुञ्ज, वनजंगल, चुरे पहाड र ठूला नदीका कारण चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, बाँकेलगायत स्थानमा २५० किलोमिटर सडकको अहिलेसम्म ठेक्कासमेत लागेको छैन ।
यति मात्र होइन पुलको अवस्था पनि सन्तोषजनक छैन । स–सानाबाहेक १५ मिटरभन्दा लामो २५० पुलमध्ये १३२ वटा निर्माण भइसकेको, ४५ वटा निर्माणाधीन अवस्थामा रहेको र ५० वटाको अहिलेसम्म ठेक्का लाग्न नसकेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्