Ads

सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री


गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् । जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृतिसभालाई सम्बोधन गर्न आज गोरखा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्दै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा हुन अझै पनि बाँकी रहेको बताए । “जनयुद्धका क्रममा उठाएका सबै मुद्दा पूरा भइसकेका छैनन्”, उनले भने, “शान्तिपूर्ण ढङ्गबाट बाँकी रहेका मुद्दालाई स्थापित गर्दै जाने दृढ सङ्कल्पका साथ लागिरहेका छौ ।”

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए । “यसपटक सरकारको नेतृत्वमा पुगेपछि मैले नै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदलाई राष्ट्रिय सहिदको घोषणा गरिसकेको छु”, उनले भने, “राजपत्रमा प्रकाशित गरी सहिद घोषणा र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणाले जनयुद्धलाई सम्मान गर्ने वातावरण बनेको छ ।”

प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पूरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पु¥याउनेतर्फ सरकार लागि रहेको बताए । उनले सत्यनिरुपण तथा बेपत्तासम्बन्धी विधयेक पारित भएपछि देशभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुनेसमेत उल्लेख गरेका छन् ।

विसं २०५६ भदौ २३ गतेका दिन बिरामी अवस्था रहेका नेता वाग्लेलाई पार्टी कामका सिलसिलामा रहनुभएका बेला साविकको गोरखाको गाँखु गाविसमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको थियो । विसं २०४७ देखि शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा होमिएका नेता वाग्ले माआवादीले जनयुद्धको थालनी गरेसँगै भूमिगत भएको थिए ।

सत्र वर्ष शिक्षण सेवामा बिताउनुभएका नेता वाग्ले पार्टीभित्र वैचारिक, साङ्गठनिक र दृढ सङ्कल्प भएको नेताका रुपमा चिनिन्थे । गोरखाको आपँपिपल गाविसको रातडाँडा भन्ने ठाउँमा विसं २०१० भदौ २४ गते जन्मिनुभएका नेता वाग्ले सानैदेखि विद्रोही स्वभावको थिए । उनि जनयुद्धका क्रममा मारिनु हुने पार्टीको सबैभन्दा उच्च तहको नेता हुन् ।

Ads

सम्बन्धित पोष्टहरू