काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक बीपी कोइराला बहुआयामिक व्यक्तित्त्व भएको बताएका छन् ।
११०औं बीपी जयन्तीका अवसरका ललितपुरस्थित केन्द्रीय कार्यालयमा बीपी साहित्य महोत्सवको उद्घाटन गर्दै देउवाले बीपी राजनीतिक र साहित्यिक आकाशमा अजर र अमर नक्षेत्र भएको बताए ।
‘बीपी आफैँमा बहुआयामिक व्यक्तित्त्व हुनुहुन्थ्यो । उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधै अजर र अमर नक्षेत्रको रूपमा आज पनि स्थापित हुनुहुन्छ,’ देउवाले भने, ‘उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिँडेका छौँ । मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौं । नेपालका सबै राजनैतिक दलहरू कुनै न कुनै दृष्टिकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन् । मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ ।’
बीपीले ठूलो होइन असल मान्छे बन्न सिकाएको पनि देउवाले बताए । ‘उहाँ साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा, उहाँले आफैँ भन्नु हुनुहुन्थ्यो कि तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नू । उहाँले मार्स्क र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग निकट देखिनुहुन्थ्यो भने आर्थिक समानताका सवालमा मार्क्सवादी चिन्तनलाई पनि आवश्यक ठान्नुहुन्थ्यो,’ देउवाले भने, ‘सामन्तवादविरूद्ध तत्कालीन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पूँजीवाद दुवै उहाँले अपूर्ण देख्नुभयो । अनि प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नुभयो “साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ ।” आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढेको छ ।’
बीपी राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार रहेको पनि देउवाले बताए । ‘सबै किसिमका विभेदविरूद्ध आगो ओकल्नु हुन्थ्यो । समावेशिता र सधै नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनुभयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झै उभिनुभयो,’ देउवाले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा उहाँ सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नुहुन्थ्यो । राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरूसँग मित्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नुहुन्थ्यो र निर्णय गराइछाड्नु हुन्थ्यो ।’
आजदेखि शुरू भएको बीपी महोत्सव तीन दिनसम्म चल्नेछ । जसमा बीपीका राजनीति, कूटनीति, साहित्यसहितका विषयमा विभिन्न प्रस्तुति र छलफलका कार्यक्रम हुनेछन् ।
महोत्सवमा डा. बाबुराम भट्टराईदेखि एमालेका प्रदीप ज्ञवालीसम्म वक्ताका रूपमा रहने छन् । महोत्सवमा विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कवि, इतिहासविद् अर्थशास्त्री, राजनीतिक विश्लेषक र पत्रकारहरूसमेत विभिन्न सेसनका कार्यक्रममा सहभागी हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्