काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका विषयमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको बताएका छन् । यसबारे निर्क्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न उनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भेट गरेपछि उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरेर उक्त निर्देशन दिएका हुन् ।
उनले यससम्बन्धी विषयमा महासंघ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुंगाेमा पुर्याउने कुरामा आफूले पहल गर्ने पनि बताए।
प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो। उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्ने जनाएको थियो।
महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग–व्यवसायहरू ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग–व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिएको छ। ‘अहिलेको वेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,’ महासंघ अध्यक्ष ढकालले भने, ‘थप समस्या सिर्जना गरिदिनुभएन।’
कोभिड महामारीपछि उद्योग–व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग–व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासंघको धारणा छ।
प्रतिक्रिया दिनुहोस्