शालिन, भद्र र मृदुभाषी नेताको छवि स्थापित छ, सुवासचन्द्र नेम्वाङ्को । पार्टी भित्र समेत समन्यवकारी भुमिका निर्वाह गर्ने नेता नेम्वाङ्ले संविधानसभाको अध्यक्ष भई निर्वाह गरेको भुमिका समेत विवाद रहित बन्न पुग्यो ।
समाभुख भन्न साथ नेम्वाङ् जस्तो हुनु पर्छ भन्ने आदर्श स्थापित गरेका उनकै अध्यक्षताको संविधानसभाले संविधान जारी गरेको थियो । पछिल्लो समय एमालेको उपाध्यक्ष एवम् संसदीय दलको उपनेता समेत उनी दैनिक जसो आफ्नो कार्यालयमा आफ्ना सांसदहरुलाई संसदमा निर्वाह गर्नु पर्ने भुमिकाका बारेमा ‘प्रशिक्षित’ गर्ने गरेका थिए । कुनै महत्वपूर्ण विषयलाई संसदमा उठान गर्नु प¥यो भने अधिकांश एमाले सांसदहरु उनको राय लिन पुग्ने गरेका थिए ।
२०२९ सालमा ईलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियूको तर्फबाट सभापति बने पछि क्रमिक रुपमा तत्कालिन माले हुँदै राजनीतिको मूल प्रवाहमा होमिए । २०५४ सालको छैठौ महाधिवेशन पछि लगातार केन्द्रिय कमिटीमा रहँदै आएका उनी पछिल्लो समय उपाध्यक्षको भुमिकामा रहेका थिए ।
सभामुखलाई ‘ब्राण्डिङ्’ गरेका नेता
२०४८ साल देखिनै संसदीय अभ्यासमा रहेका उनी सभामुख पदलाई ‘ब्राण्डिङ्’ गर्दै नेकपा एमाले भित्रको पार्टी राजनीतिमा व्यस्त थिए । सभामुखको गरिमा, स्वतन्त्र छवि, सम्मानित व्यक्तित्व कस्तो हुनु पर्छ भन्ने उनले स्थापित गरि दिए । कतिपय सभामुखहरुको भुमिकाको विषयलाई लिएर टिकाटिप्पणी हुने गरे पनि उनको एक दशकको यात्रा सन्तुलित र स्वतन्त्र रहयो ।
नेता नेम्वाङ् २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बने भने त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भएका थिए । २०५६ सालमा इलाम—२ बाट निर्वाचित भए । उनी २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बने । त्यसपछि त्यही साल माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म उही जिम्मेवारीमा रहे २०६४ को संविधानसभा निर्वाचनमा इलाम—२ बाट निर्वाचित भए ।
२०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभाध्यक्ष तथा सभामुख बने । उनले २०७० को दोस्रो संविधानसभा चुनाव पनि इलाम—२ बाट जिते । २०७४ र २०७९ को निर्वाचनमा पनि उही क्षेत्रबाट जित हासिल गरे । नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ फागुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार समेत बनेका थिए ।
भुगोल र समुदाय प्रतिको योगदान
संविधानसभा अध्यक्ष, सभाुमख जस्तो उच्च राजनीतिक पदमा रहे पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुका कारण व्यस्त त हुनै प¥यो । जसका कारण उनी केहि समय आफु निर्वाचित भएको क्षेत्रमा जान नभ्याउँदा केहिले उनको आलोचना पनि गरे । तर वास्तविकता त्यस्तो थिएन । उनले आफु निर्वाचित भइको क्षेत्रमा गरेका विकास र समुदाय प्रतिको योगदान उच्च रहेको छ ।
उनैको अग्रसरताका कारण पूर्वी नेपाल र खास गरि किराती समुदायमा चेतना, शिक्षा र अहिंशाको दर्शन स्थापित गरेका महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूती घोषणा गरिएको छ । यस्तै दशकौं सम्म समाधान हुन नसकेको उनकै निर्वाचन क्षेत्रमा पर्ने चुलाचुलीको भुमि सम्वन्धि समस्या एउटा आयोगनै बनाएर समाधान भएको छ । यो समस्या समाधानका लागि उनी महत्व र गम्भिरतापूर्वक लागि परेका थिए ।
यसै गरि दमकबाट ईलाम हुँदै पाँचथरको रवि सम्म पुग्ने सडक निर्माणलाई उच्च महत्व दिई मेची पहाड र तराईको ‘स्मुथ कनेक्टीभिटी’ कायम गर्न उनको भुमिका उच्च रहेको छ । झापा तर्फ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेका कारण समेत दुवै नेताहरुको पहल कदमीका कारण हाल यो सडक कालोपत्रे भई रहेको छ ।
यसै गरि झापाको दमकसँग सिमाना जोडिए पछि वर्षौ सम्म विद्युतीकरण नभएका गाउँमा त्यहाँको सांसदको भुमिकामा उनले विद्युतीकरणका लागि अगुवाई गरे । यस्तै वर्षायाममा आउजाउनै ठप्प हुने अवस्था रहेकोमा पक्कि पुल निर्माणका कारण जनजीवन सहज मात्र भएको छैन, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता सेवाका लागि झापासँगको सम्वन्ध पनि सहज भएको छ ।
संक्षिप्त चिनारी
सुवासचन्द्र नेम्वाङको जन्म २००९ फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको हो । संविधानसभा अध्यक्षको ऐतिहासिक कार्यकाल निर्वाह गरेका नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख थिए । २०४८ र २०५२ मा गरी उनले दुई पटक राष्ट्रिय सभामा पनि संसदीय अभ्यास गरेका थिए । २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको सभापति समेत बने ।
कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालेको अनुभव थियो ।
२०२९ सालमा अनेरास्ववियुको अध्यक्ष बनेका उनी जीवनदेखि नै राजनीतिमा लागेका थिए । नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल समेत परे । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उनका दुई छोरा र दुई छोरी छन् । संविधानसभा मार्फत संघीयता एवम् समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेम्वाङ्को भुमिका उच्च रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्