काठमाडौं । वीरगञ्ज महानगरपालिका-४ मा अवस्थित बाल सुधार गृहमा मंगलबार साँझ झडप भएको हो।झडपमा परी ११ जना बाल कैदीबन्दी र तीन जना प्रहरी घाइते भएको र घाइतेहरूको उपचार नारायणी अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
केही दिनअघि भक्तपुरको बाल सुधार केन्द्रबाट ल्याइएका १८ बाल कैदीबन्दी र पहिल्यैदेखि वीरगञ्जको सुधारगृहमा रहँदै आएकाहरूबीच मंगलबार विवाद भएको थियो। सुधारगृहका नाइकेले यातना दिएको विषयमा विवाद चर्केपछि तोडफोड र ढुंगामुढा भएको थियो।
यो स्थिति नियन्त्रणमा लिन प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो। प्रहरीले तीन राउन्ड अश्रु ग्याँस प्रहार गरेको थियो। बाल कैदीबन्दीहरूले प्रहरीमाथि समेत भित्रबाट ढुंगामुढा गरेपछि रातिसम्मै स्थति निकै तनावपूर्ण बनेको थियो। राति करीब ११ बजेसम्म पनि प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको थिएन।
ड्युटीमा खटेका प्रहरीलाई भित्र प्रवेश गर्नै नदिएपछि प्रहरी उपरीक्षक शाह आफैं ठूलो संख्यामा प्रहरी लिएर त्यहाँ पुगेका थिए। शाहका अनुसार सुधारगृहभित्रको अवस्था पनि समान्य रहेको छ भने वरिपरि व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्