Ads

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई


कास्की । पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमन्ड युथ स्पोर्ट्स काठमाडौँलाई ३-१ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पुलिसले डायमन्डमाथि १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

च्याम्पियन बनेको पुलिसले उपाधिसहित नगद एक लाख ५० हजार एक सय ११, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको डायमन्डले एक लाख एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।

यसअघि लिग चरणको खेलमा पुलिसले सबै खेल जित्दै शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा तृतीय हुँदै ५० हजार एक सय ११ पुरस्कार पायो । महिला भलिबलमा नेपाल पुलिस क्लब, न्यू डायमन्ड, सशस्त्र प्रहरीको एपिएफ क्लब र एभरेष्ट भलिबल क्लब बुटवलले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

यसैबीच प्रतियोगितामा पुुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्बलबीचको फाइनल खेल  रोकिएको छ । फाइनलमा दुई सेटको खेल समाप्तिपछि अँध्यारो भएपछि खेल रोकिएको हो । पुरुषतर्फको फाइनल खेल मङ्गलबार बिहान हुने आयोजकले जनाएको छ । पुरुषतर्फ लिगको अन्तिम खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै पुलिससँग नै फाइनल खेल्ने गरी स्थान पक्का गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू