वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । जगरनाथपुर गाउँपालिका -५ मसिहानीकी अन्दाजी ४० वर्षीया कान्ति देवी मुखिया बिनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार मंगलबार साँझ ५ बजेतिर घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएको हो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएको केसीले बताए । बिनका दुई छोरा र तीन छोरी छन् । घरमा बिन एक्लै बस्दै आएको केसीले जानकारी दिए ।
मृतक बिनलाई मंगलबार दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी एकजना छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए ।
प्रतिक्रिया दिनुहोस्